Saturday, 15 December 2012
डुब्ने र डुबाउनेहरू
काठमाडौ, मंसिर ३० - व्यवसाय गर्दा यदि नाफा हुन्छ भने घाटा लाग्नु पनि स्वाभाविक हो । उकालो चढेर उचाइमा पुगेपछि त्यसपछिको गन्तव्य धेरै अवस्थामा ओह्रालो लाग्ने नै हुन्छ । अर्थशास्त्रमा व्यापार चक्रका बारेमा थुप्रै व्याख्या र सिद्धान्त छन् । करिब २०० वर्षअघि स्विस अर्थशास्त्री लिओनार्द दे सिस्मोन्डीले आवधिक रूपमा अर्थतन्त्रमा उतार-चढाव आउँछ र एकपटक हासिल गरिएको आर्थिक समद्धि र सन्तुलन सधै कायम रहन सक्दैन भन्ने सिद्धान्त प्रतिपादन गरेपछि आर्थिक वा व्यावसायिक चक्रका बारेमा धेरै शोध गरिएका छन् । सन् १९२५ मा रूसी अर्थशास्त्री निकोलाई कोन्द्रातेभले प्रत्येक नौ-दस वर्षको अन्तरालमा मात्र होइन, लामो अवधिको अन्तरालमा झनै ठूलो आर्थिक उतार-चढाव हुन्छ भनेर विश्लेषण प्रस्तुत गरे । सरदर प्रत्येक पचास वर्षमा आर्थिक उतार-चढाव हुन्छ भन्ने उनको शोधकै आधारमा लामो अवधिको आर्थिक यस्तो उतार-चढावलाई कोन्द्रातेभ-चक्र पनि भन्ने गरिएको छ । तक्निकी-अन्वेषण, जनसांख्यिक बनोटमा परिवर्तन र प्राकृतिक विपत्तिले निश्चित रूपमा कुनै खास आर्थिक क्षेत्र वा सबै क्षेत्रमा संकट ल्याउँछन् । तर सबै कुरा सामान्य चलिरहँदा पनि आम लगानीकर्ता डुब्नु वा सामान्य नागरिकलाई आर्थिक संकट पर्नु व्यावसायिक चक्रको विशेषता नै हो ।
कुनै खास आर्थिक क्षेत्रमात्र व्यावसायिक चक्रको संकुचन चरणमा प्रवेश गरेको छ भने त्यसले सर्वसाधारणलाई सामान्यतया घातक असर नगर्न पनि सक्छ । तर वित्तीय क्षेत्र संकुचनमा पर्यो भने त्यसले आफूसँगै सर्वसाधारणलाई पनि विपदमा पुर्याउँछ । करिब तीन वर्ष भयो, नेपालको वित्तीय क्षेत्रमा एक किसिमको संकट छ र यो सँगै सर्वसाधारणको निक्षेप धरापमा परेका खबर आइरहेका छन् । खासगरी सहकारी र अनौपचारिक वित्तीय क्षेत्रले धेरैलाई डुबायो । ढुकुटी खेल्न पल्केका कतिपयले आफू डुबेको किस्सा सुनाउन लाज मान्छन् । सयकडा तीन मासिक व्याजको लोभमा अनौपचारिक लगानी गर्नेहरूले कुरा खोल्न सक्दैनन् । त्यो पीडा बिर्सनु बाहेक अर्को कुनै विकल्प छैन, किनभने ठगलाई कानुनी कारबाहीको दायरामा ल्याउने आधार नै हुँदैन ।
यसैगरी अलि खुकुलो नियमनको दायरामा रहेका क वर्गबाहेक अरु वर्गीकरणमा परेका वित्तीय संस्थाहरू पनि गएको दुई वर्षमा एकपछि अर्को गर्दै ढले । आफ्नो जीवनभरको आर्जन भावी आर्थिक सुरक्षाका निम्ति बचत गरेर विश्वासमा संरक्षणको जिम्मा लगाएका कैयौं व्यक्ति कहिले सम्बन्धित कम्पनीको कार्यालय त कहिले राष्ट्रबैंक धाउने क्रम अझै जारी छ । विगत ६ महिनामा रियल-इस्टेट कम्पनीहरूलाई तयारी आवासीय घर वा फ्ल्याटको किस्ता बुझाएर कहिले डेरा छाडेर आफ्नो आवासमा सर्न पाइएला भनेर कुरेर बसेका हजारौं परिवारहरूले आफूले किस्ता तिरिसकेको आवासको लिलामी सूचना पत्रपत्रिकामा प्रकाशित भएको पढेपछि एक्कासी छाँगाबाट खसेजस्तो भएका छन् ।
के यो व्यावसायिक चक्रकै संकुचन चरणको चरित्र हो ? यो निष्कर्ष हतपत निकाल्न मिल्दैन । यसका लागि तथ्यहरूको थप विश्लेषण आवश्यक पर्छ र मुख्य कुरो त यथार्थ तथ्य नै फेला पार्नु जरुरी हुन्छ । नेपालमा व्यावसायिक चक्रका बारेमा त्यति अध्ययन भएको छैन । यो सान्दर्भिक नभएका कारणले पनि हो । सुषुप्त अर्थतन्त्र, निर्वाहमुखी अर्थतन्त्र र नियन्त्रित अर्थतन्त्रमा व्यावसायिक चक्र सम्भवतः हुँदा पनि हुँदैन र कदाचित भए पनि त्यसको अध्ययनले नीतिगत सुधारलाई कुनै मार्गदर्शन गर्दैन । २०४६ सालपछिको खुला अर्थतन्त्रको चरणमा आर्थिक गतिविधिहरू आर्थिक वा बजारका कारणभन्दा पनि राजनीतिक वा गैरआर्थिक कारणहरूले बढी प्रभावित भएका छन् । त्यसैले वर्तमान संकटको विश्लेषण गर्दा व्यावसायिक चक्रको दृष्टिकोण लिएर हेर्नुभन्दा अरु कारणहरूको खोजी गर्नु उपयुक्त हुनसक्छ ।
किन डुब्छन् व्यवसायहरू ? किन धोकामा पर्छन्, सर्वसाधारण ? यी प्रश्नको उत्तर खोजी गर्दै जाँदा केही हदसम्म एउटा प्रवृत्ति फेलापर्छ । आर्थिक उदारीकरणको सुरुवाती चरणमा बम्पर उपहार चलाउने र उपहार टिकट खरिद गर्नेहरूको एउटा लहर आयो । कतिले सस्तोमा स्टिल दराज, सोफा, टेलिभिजन भित्र्याए पनि । तर पानीको फोका बिलाए जस्तो एक दशकभन्दा कम अवधिमै यी दुवै हराए । साना-साना लगानीकर्ता डुबे र डुबाउनेहरू पनि भागे । अर्को चरणमा नेटवर्क बजारीकरण र पुँजी स्किम चलाउनेहरूले साना लगानीकर्ताहरूलाई डुबाए र सँगै धेरैजसो आफैं पनि
भागे । अमेरिकाको भिसा लगाइदिन्छु वा फलानो कम्पनीमा जागिर लगाइदिन्छु वा फलानो मेडिकल कलेजमा भर्ना गराइदिन्छु भनेर पैसा उठाउने र त्यसपछि एकदिन बिलाउनेहरू यसैबीच थुप्रै देखिए, अझै देखिँदैछन् । यो सबैमा एउटा चरित्र स्पष्ट देखिन्छ— साना लगानीकर्ताहरूको उपस्थिति । चलाख व्यवसायीहरूले थोरैसँग ठुलो व्यापार होइन कि धेरैसँग सानो-सानो रकमको कारोबार गर्दा ठगी गर्न सजिलो हुने ज्ञान लिएरै बजार प्रवेश गरे । थोरै लगानीमा धेरै लाभ लिन चाहने मानवीय कमजोरीको फाइदा लिने यो व्यावसायिक मोडल विभिन्न स्वरूपमा बेला-बेला जाग्छ र गहिरिएर खोतल्ने हो भने यस्तो व्यवसायमा डुब्ने र डुबाउने वर्ग प्रत्येक पटक एउटै हुन्छ ।
कर तिर्ने चाहना नहुनु वा कर छल्ने उपायको खोजीमा हरदम रहनु पनि व्यवसाय डुब्ने र डुबाउने कारण बनेको छ । नगरपालिका क्षेत्रमा अहिले लाखौं निक्षेपकर्ताको निक्षेप धरापमा पारेका ठूला सहकारीहरू असल सहकारी भावनाबाट खोलिएका होइनन् । सहकारी खोलेपछि आयकरबाट मुक्ति पाइन्छ भनेर खोलिएका हुन् । त्यसैले कतिपय यी सहकारी एउटै परिवारको नियन्त्रणमा वा कुनै खास समूहको नियन्त्रणमा छन् । यिनीहरूमा सहकारी सिद्धान्त बमोजिमको लोकतान्त्रिक व्यवस्थापन पद्धति छैन । २०५८ सालको आयकर ऐनले सबैलाई करको दायरामा ल्याएपछि यिनीहरू राज्यले अन्याय गर्यो, निमुखाको सहकारीलाई पनि कर लगायो भन्दै कराउँदै हिँडे । र सहकारीप्रतिको राजनीतिक मोहका कारणले अहिले समान प्रकृतिको काम गर्ने कम्पनीले तिर्नुपर्ने कर भने एक तिहाइ कम दरमा तिर्ने व्यवस्था गरिएको छ । सहकारी खोल्नेमात्र होइन, त्यस्ता सहकारीमा रकम जम्मा गर्ने ठूला निक्षेपकर्ता पनि करछली गरेको रकम सम्पत्ति सुदृढीकरण अपराध विरुद्धको निरोधात्मक उपायका रूपमा वाणिज्य बैंकहरूमा जम्मा गर्दा आयको घोषणा गर्नुपर्ने सामान्य प्रावधानबाट डराएर खुकुलो नियमन हुने सहकारीमा पुगेका छन् । गलत नियत भएका यी दुई वर्गको चपेटामा अलि बढी ब्याजको चाहना राख्ने न्यून आय वर्गका परिवार फँस्न पुगे ।
अरु व्यवसायमा पनि कर दायित्व छल्ने अभियोजनमा सधैँ लागिरहने निकायहरू प्रायः डुब्ने गरेका देखिन्छन् । कर छल्ने ध्याउन्नमा लाग्दा यति समय र बौद्धिक श्रम खर्च हुन्छ कि त्यस्ता व्यवसाय सञ्चालकले व्यवसायमा नवीनता, क्षमता वृद्धि, कुशलता प्रबर्द्धन आदिमा ध्यान दिने समय नै पाउँदैनन् । परिणाम आफ्नै व्यवसाय संकटग्रस्त बन्न पुग्छ ।
व्यावसायिक लोभले संसारमा जहाँ पनि आर्थिक संकट ल्याएको छ । एक्काइसौं शताब्दीको पहिलो विश्वव्यापी आर्थिक संकटको प्रमुख कारण लोभ नै थियो । अति नाफाको खोजीमा व्यवसायहरू जब ठूलो र आफूले थेग्न नसक्ने जोखिीम मोल्छन्, तब संकटको विजारोपण हुन्छ । नेपालको अहिलेको घर-जग्गा कारोबारको संकटको एउटा प्रमुख कारण यो हो । यस्तो संकट आउँदा सबैभन्दा बढी चोट पाउने नवप्रवेशी वा सिमान्त लगानीकर्ता हुन्छन्, जसले बजारमा असीमित फाइदाको कुरो सुनेर मूल्यले शिखर चुमेको बेला बजारमा प्रवेश गरेका हुन्छन् ।
व्यवस्थापकीय कमजोरी व्यवसाय डुब्नुको अर्को कारण हो । असक्षमले ठूलो पद ताक्ने र हत्याउने प्रवृत्ति सरकारी निकायहरूमा मात्र होइन, निजी क्षेत्रका निकायमा पनि रोगसरि नै छ । भनसुनका आधारमा नियुक्त गर्ने प्रचलन सरकारी निकायहरूमा भन्दा निजी क्षेत्रमा बढी हुन्छ । २०४६ सालपछि डुबेका वायुसेवा कम्पनीहरू हुन् वा औद्योगिक प्रतिष्ठानहरू तिनको डुबानको नेतृत्व उच्च व्यवस्थापनले गरेको हो । केही अपजस श्रम संगठनहरूलाई पनि जाला । तर त्यसलाई व्यवस्थित गर्न नसक्ने र व्यवस्थित गर्न सक्ने पेसाविद व्यवस्थापन खोजी पनि नगर्ने प्रवृत्तिले व्यवसायहरू संकटमा गएका छन् ।
राजनीतिक पक्षपोषणले खोलिएका वा राजनीतिक पक्षपोषण प्राप्त गरी ठूलो बैंक ऋण लिएर समाजमा सम्पन्न व्यवसायी बन्न पुगेका कसैको व्यवसाय पनि राम्रोसँग चलेको छैन । यो वर्गलाई आफ्नो व्यवसाय डुब्यो भने त्यो डुबेको चिन्ता पनि हँुदैन । किनकि यिनको व्यवसायको घाटा प्रकारान्तरले बैंकको वासलातमा देखिन्छ । कतिपय अवस्थामा व्यवसाय डुब्दा उनीहरूलाई व्यक्तिगत फाइदा हुन्छ । नेपालमा अहिले चलेको व्यवसायको मालिक हुनुभन्दा रोगी प्रतिष्ठानको मालिक हुँदा राजनीति बढी गर्न पाइन्छ ।
मूल्य प्रतिस्पर्धा पनि नेपालमा व्यावसायिक संकटको कारण बनेको छ । बजार लिने र आफ्नो प्रतिस्पर्धीलाई सिध्याउने होडमा दैनिक पत्रिका खोलिएको एकाध वर्षमै आफैँ सकिएका इतिहास धेरै भइसकेका छन् । कस्मिक वायुसेवाको पतन पछाडिका धेरै कारणमध्ये एउटा गलत मूल्य-नीति पनि हो । गलत मूल्य-नीतिले धराशायी हुने प्रतिष्ठानमा धेरैजसो त सरकारी संस्थान नै आउँछन् । तर निजी क्षेत्र पनि यसबाट वञ्चित छैनन् । लेखक पूर्वअर्थसचिव हुन् ।
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment