Sunday, 16 December 2012

थ्री-स्टार र मनाङको जित



काठमाडौं, पुस १ - स्वाभाविक लय बिर्सेको मनाङ-मस्र्याङ्दीलाई भाग्यले साथ दिएपछि हिमालयन शेर्पाविरुद्ध शनिबार ३ अंक जोडेको छ । मनाङको चिरपरिचित प्रतिद्वन्द्वी थ्री-स्टारले विशेषगरी पहिलो हाफमा आकर्षक खेल पस्कँदै 'ललितपुर डर्बी' मा जावलाखेललाई सजिलै पन्छायो । लगातार पाँचौं जितसँगै थ्री-स्टारले शीर्षस्थानको मच्छिन्द्रसँगको दूरी एक अंकमा छोट्यायो । छैटौं चरण समाप्तिमा मच्छिन्द्रको १६ र थ्री-स्टारको १५ अंक छ । अपराजित मनाङले पनि १४ अंक जोड्दै उनीहरूलाई पछ्याइरहेको छ । उति नै अंक भए पनि आरसीटीलाई पछि पार्दै धेरै गोल अन्तरका आधारमा मनाङ तेस्रोमा छ । लगातार ह्याटि्रक सन्तोष साहुखलले लगातार दोस्रो ह्याटि्रक गरेपछि थ्री-स्टारको सहज जित सम्भव भयो । उनले १०, २८ र ३६ औं मिनेटमा गोल गरे । जावलाखेलका कप्तान जग्गुनाथ खड्काले विक्रम लामालाई फल गरेपछि प्राप्त पेनाल्टीमा उनले दोस्रो गोल गरे । उनले सेकेन्ड बार च्याप्दै प्रहार गरेको तेस्रो गोल फिनिसिङको राम्रो उदाहरण थियो । लिगमा उनको ८ गोल भएको छ ।

थ्री-स्टारले अनिल ओझाको गोलसँगै तेस्रो मिनेटमा खाता खोलेको थियो । विराज महर्जनको क्रसमा सुशील शाहले क्लियर गर्न नसकेको बललाई अनिलले पोस्टको दिशा दिएका थिए । खेलको पाँचै गोल पहिलो हाफमै भए । जोन डिकेको पासमा जुमा बेन्लीले ३८ औं मिनेटमा जावलाखेलका निम्ति सान्त्वना गोल गरे । जावलाखेलले दोस्रो हाफमा सुधारिएको खेल पस्कियो । प्राप्त अवसरमा गोल गर्न भने सकेन । 'डिफेन्सको गल्तीले पहिलो हाफमा राम्रो खेल्न सकिएन,' प्रशिक्षक किशोर केसीले भने, 'थ्री-स्टार राम्रो टिम हो, उसलाई चुनौती दिने टिम मसँग छैन ।' ६ अंकसहित १३ औंमा भए पनि रेलिगेसनको डर नभएको उनले बताए । 'सुरुमै गोल भएकाले सजिलो भयो,' थ्री-स्टारका प्रशिक्षक प्रदीप हुमागाइँले भने । उपाधि होडमा भएकाले अबको खेलबारे चिन्ता भएको उनले बताए । खराब यात्रा राम्रो खेल पस्केर पनि नतिजा सुम्पँदै आएको हिमालयन शेर्पाले खराब यात्रा शनिबार पनि कायम राख्यो । मनाङलाई दबाबमा राखेर पनि उसले गोल गर्न सकेन । त्यसैले लगातार चौथो हार बेहोर्यो । चार अंकसँगै हिमालयन रेलिगेसन क्षेत्रमा छ ।

मनाङका सब्सिटच्युट फिल्स सर्जियोले ५१ औं मिनेटमा निर्णायक गोल गरे । उनले सविन्द्र श्रेष्ठको क्रस उपयोग गरेका थिए । स्वाभाविक लय गुमाएको मनाङ मिडफिल्ड र फरवार्ड लाइनमा फिक्का देखियो ।

'यस्तो खेलले उपाधिनजिक पुगिँदैन,' प्रशिक्षक कृष्ण थापाले भने, 'मैले क्लब सम्हालेयताका १५ खेलमध्ये यो नै सबैभन्दा खराब प्रदर्शन हो ।'

मनाङ १-० हिमालयन शेर्पा

थ्री-स्टार ४-१ जावलाखेल

No comments:

Post a Comment