Saturday, 15 December 2012

जनकपुर सेमिफाइनलनजिक



काठमाडौ, मंसिर ३० - अनिल मण्डलले आफ्नो ब्याटिङ लय कायम राखेपछि क्षेत्र नम्बर-७, जनकपुरले पेप्सी स्ट्यान्डर्ड चार्टर्ड वान-डे राष्ट्रिय क्रिकेटमा शुक्रबार लगातार दोस्रो जित हासिल गरेको छ । जनकपुर क्षेत्र नम्बर-५, नेपालगन्जलाई ८ विकेटले हराउँदै समूह 'बी' बाट सेमिफाइनलनजिक पनि पुगेको छ ।

नेपालगन्जले भने दुवै खेलमा हार बेहोरेको छ । समूह 'ए' को अर्को खेलमा क्षेत्र नम्बर-४, भैरहवाले क्षेत्र नम्बर-८, पोखरामाथि ६ विकेटको जित हासिल गर्यो । पोखराको यो तीन खेलमा पहिलो हार हो । राष्ट्रिय टिमका नियमित सदस्य अनिल लयमा देखिए ।

डिभिजन-४ मा डेनमार्कविरुद्ध अन्तर्राष्ट्रिय खेलमा शतक प्रहार गरेका उनले जारी राष्ट्रिय क्रिकेटमा काठमाडौंविरुद्ध १ सय ६ रनको नटआउट इनिङ खेलेका थिए । उनको उत्कृष्ट प्रदर्शन शुक्रबार पनि कायम रह्यो ।

कीर्तिपुर मैदानमा 'म्यान अफ द म्याच' उनले नटआउट ८२ रन बनाएपछि नेपालगन्जले दिएको १ सय ५९ रनको लक्ष्य जनकपुरले ३७ ओभरमा दुई विकेट गुमाएर पूरा गर्यो । इनिङ सुरु गरेका अनिलले १ सय ५ बलमा ९ चौका प्रहार गरे । उनलाई चन्दन झाले नटआउट ३७ रन बनाउँदै साथ दिएका थिए । यसअघि नेपालगन्जले ३४ ओभर ३ बलमा अलआउट हुँदै १ सय ५८ रन जोडेको थियो । उसका अमरसिंह रौतेलाले अर्धशतक प्रहार गरेका थिए । राज मोहम्मदको बलमा एलबीडब्लू हुनुअघि उनले ५१ बलमा ७ चौका र तीन छक्का प्रहार गरेका थिए । त्यस्तै, प्रारम्भिक ब्याट्सम्यान महेश क्षेत्रीले ३१ रन जोडे ।

भैरहवाका राज मोहम्मदले ४ तथा कुमार प्रसुनले ३ विकेट लिए । पुल्चोक मैदानमा कम स्कोर भएको खेलमा पोखराले पहिलो दुई खेलको प्रदर्शन दोहोर्याउन सकेन । उसले ३१ ओभर ३ बलमा अलआउट हँुदै ८४ रनको झीनो स्कोर तयार गर्यो । प्रारम्भिक ब्याट्सम्यान निश्चल पाण्डे ७ रनमा आउट भए भने लयमा देखिएका अर्का ब्याट्सम्यान अरुणराज अधिकारीले पनि २७ रनमात्र बनाए । अरुणले राजन प्राजोसँग मिलेर दोस्रो विकेटका लागि ३४ रनको साझेदारी गरेका थिए ।

राजनले ३९ रनको योगदान दिए । पोखराले ५३ रन जोड्दा तेस्रो विकेट गुमाए पनि थप ३१ रन जोड्दा बाँकी सात विकेट गुमायो । उसका अन्य ब्याट्सम्यान दोहोरो अंकमा पुगेनन् । भैरहवाका सुसन भारीले ४ तथा सागर पुनले ३ विकेट लिए । सुसन 'म्यान अफ द म्याच' बने । झीनो लक्ष्य पछ्याएको भैरहवाको प्रदर्शन पनि सामान्य रह्यो ।

उसले १५ ओभर ३ बलमा ४ विकेट क्षतिमा ८६ रन बनाएको थियो । पहिलो विकेटका लागि सागर पुन र फैजरुल रहमान खानले ४९ रनको साझेदारी गरे । सागरले २६ तथा फैजरुलले २२ रन जोडे । अन्तिम थापाले १६ रन बनाए भने निश्चल चौधरी ११ रनमा नटआउट रहे । पोखराका राहुल विश्वकर्माले दुई विकेट लिए ।

No comments:

Post a Comment