Tuesday, 18 December 2012

सहमति कायम भइसकेको छैन


17.12.12 NST

प्रधानमन्त्रीको साझा उम्मेवादर सिफारिस गर्न राष्ट्रपतिले दिएको चौथो म्याद सोमबार सकिए पनि आफुहरुबीचका पछिल्ला वार्ताहरुबाट समेत सहमतिको स्पष्ट आधार तयार भइनसकेको नेताहरुले बताएका छन्।

सहमतिको सम्भावना बढेको भन्दै आईतबार सम्म आशावादी देखिएका काँग्रेस नेताहरुले सत्ताधारी दलहरुकै कारण हुनै लागेको सहमति फेरि पर धकेलिएको प्रतिक्रिया दिएका छन्।

अर्को दल एकीकृत माओवादीले चाहिं पर्याप्त गृहकार्यको अभावमा सोमबार सहमति हुन नसकेको भन्दै आशा गर्ने ठाउँ अझै बाँकी रहेको बताएको छ।

संकेत

पछिल्ला वार्ताहरुको केन्द्रमा रहेका ठानिएका एकीकृत माओवादी अध्यक्ष प्रचण्डले आईतबार राष्ट्रपतिलाई भेटेपछि देश सहमतितिर गएको बताउँदै सोमवार बेलुकासम्ममा त्यसको नतीजा आउन सक्ने संकेत गरेका थिए।

तर सकरात्मक नतिजातर्फ उनले गरेको त्यो संकेतले सोमबार बेलुका सम्म कुनै आकार लिन सकेन।

सहमति कायम गर्ने प्रयासमा सोमबार बिहान अध्यक्ष प्रचण्ड, पूर्व प्रधानमन्त्री एवं एमाले नेता माधबकुमार नेपाल र काँग्रेस महामन्त्री कृष्णप्रसाद सिटौलाबीच प्रचण्ड निवासमा छलफल भएको थियो।

त्यसपछि साँझ बसेको नेपाली काँग्रेसका शीर्ष नेताहरुको बैठकले सहमतीय प्रधानमन्त्री छनौटको कुनै आकार तयार भई नसकेको निष्कर्ष निकालेको थियो।

काँग्रेस उपसभापति रामचन्द्र पौडेलले भने, “सहमतिको नजिक, नजिक पुगेको भन्ने कुरा अहिले सम्म निश्चित छैन, सहमतिले कुनै ठोस आकार प्रकार लिईसकेको छैन।”

गृहकार्य

अघिल्ला वार्ताहरुमा सक्रीय एकीकृत माओवादीका नेता पोष्टबहादुर बोगटीले गृहकार्यको अभावमा सोमबार हुने भनिएको सहमति हुन नसकेको बताए।

बोगटीले भने, “आईतबार सम्म दलहरुबीच छलफल भएका कुरामा थप गृहकार्य गर्न र पार्टीहरुबीच आन्तरिक छलफल गर्न पनि समय अपर्याप्त भएकाले सोमबारै सहमति हुन नसकेको हो। तर छिट्टै सहमतिको सम्भावनातिर जान्छ।”

नेपाली काँग्रेसले यस अघि संविधानमा सहमति जुटेका विषयमा अहिल्यै कुनै निर्णय गर्न नसकिने अडान लिएको छ भने माओवादीले चाहिं त्यो सहमतिको एउटा प्रमुख एजेण्डा रहेको बताएको छ।

आउँदो चुनावको मिति तोक्ने, संवैधानिक र कानुनी अड्चन फुकाउने, केही समयका लागि भए पनि भट्टराई नेतृत्वको सरकारमा काँग्रेस, एमाले सहभागी हुने/नहुने, संवैधानिक निकायमा रिक्त पदपूर्ति र सत्य निरुपण तथा बेपत्ता छानबीन आयोग गठन गर्ने लगायतका विषयमा प्याकेजमै सहमतिको कोसिस भईरहेको नेताहरुले बताएका छन्।

No comments:

Post a Comment