Saturday, 15 December 2012
पिसाब थैलीको क्यान्सर चुरोट पिउनेको पिसावमा रगत देखिनु खतरा
काठमाडौ, मंसिर ३० - के तपाईं चुरोटको अम्मली हुनुहुन्छ ? के त चुरोट पिउनु नै स्वास्थ्यका लागि हानिकारक भइहाल्यो । अर्को, चुरोट सेवन गर्नेको पिसाबमा रगत देखिएको छ भने अझ संवेदनशील हुनुपर्छ । नांगो आँखाले वा परीक्षणमा रगत देखिएको छ भनै तुरुन्त विशेषज्ञ चिकित्सकको परामर्श लिनुहोला । विशेषज्ञहरूका अनुसार पिसाबसँग रगत आउनु पिसाब थैलीको क्यान्सरको पहिलो लक्षण हो । यो लक्षण करिब ८० देखि ९० प्रतिशतसम्ममा देखिने गरिन्छ ।
यस्तै सामान्यभन्दा बढी पिसाब आउनु, पिसाब गर्दा दुख्नु, रोक्न नसक्नु आदि लक्षण समेत देखिन्छ । यो लक्षण भने बिरामीको पहिलो अवस्थादेखि अन्तिम अवस्थासम्म रहिरहन्छ । 'पिसाबमा रगत देखिँदा चिकित्सकले एन्टिबायोटिक औषधि दिन्छन्, यसले समयमै पिसाबको थैलीको क्यान्सर पहिचानमा असजिलो हुन्छ,' भक्तपुर क्यान्सर अस्पतालका वरिष्ठ क्यान्सर शल्यचिकित्सक एवं सर्जिकल अंकोलजी विभाग प्रमुख डा. प्रकाशराज न्यौपाने भन्छन्, 'चिकित्सक लगायत बिरामीले पिसाबमा रगत देखिँदा एक पटक सिस्टेस्कोपी गराउँदा राम्रो हुन्छ ।' हाल फिजिसियनहरूले पिसाबमा रगत देखिएका
बिरामीहरूलाई थप परीक्षणका लागि नपठाउने दुःखेसो पोख्छन् उनी । 'पिसाबमा आँखाले वा परीक्षणमा रातो रक्तकणिता (आरबीसी) देखियो भने हल्का रूपमा नलिन समेत सुझाव दिँदै डा.न्यौपाने भन्छन्, 'यदि पिसाबमा रगत आइरहेको छ वा पिसाबको रंग खियाजस्तै देखिन्छ भने चिकित्सकसँग सम्पर्क गर्नुस् ।' सिस्टेस्कोपी एउटा सामान्य परीक्षण हो जसले यस्तो क्यान्सरको पहिचान गर्न सकिन्छ । यो परीक्षण अन्तर्गत एउटा चिकित्सा उपकरणलाई पिसाब नलीको माध्यमले पिसाब थैलौसम्म पुर्याइन्छ । यसपछि पिसाब थैलीको पर्खालको आन्तरिक परीक्षण गरिन्छ । यसको माध्यमले थैलीभित्र गाँठो (ट्युमर) बनिरहेको छ वा छैन भन्ने समेत थाहा पाइन्छ ।
यो प्रक्रिया अन्तर्गत चिकित्सकले विशेष परीक्षण (बायोप्सी) का लागि गाँठोको सानो तन्तु झिक्छन् वा गाठोलाई पूरै हटाउँछन् । यस रोग पहिचानका लागि अन्य प्रक्रिया समेत छ । डा.न्यौपानेका अनुसार अन्यत्र सिस्टेस्कोपी गर्दा १० देखि १२ हजार रुपैयाँसम्म पर्ने गरे पनि भक्तपुर क्यान्सर अस्पतालमा यो परीक्षण निःशुल्क छ । बीपी कोइराला मेमोरियल क्यान्सर हस्पिटल, भरतपुरको मेडिकल रेकर्ड अफिसर ज्योति झाका अनुसार हालसम्म अस्पतालमा आएका मूत्रथैलीको क्यान्सरका कुल रोगीमध्ये ७७ प्रतिशत पुरुष र २३ प्रतिशत महिला रहेका छन् । यो संख्या समग्र क्यान्सर रोगीको २.३ प्रतिशत हो । अस्पताल पुगेका बिरामीहरू २५ देखि ८५ वर्षसम्मका छन् । झाका अनुसार यो रोग अधिकतम उमेर समूह ६० देखि ७५ वर्षको पुरुषमा र महिलामा ५० देखि ६५ वर्ष देखिएको छ । 'सुरुमै रोग पहिचान गर्यो भने खुर्के पुग्छ, अति सामान्य शल्यक्रिया हुन्छ, १० देखि १५ मिनेटमा सकिन्छ,' डा.न्यौपाने भन्छन्, 'ढिलो गरी रोग पहिचान गरेर शल्यक्रियाका लागि आउँदा पिसाब थैली पूरै फ्याँक्नुपर्ने मात्र होइन कृत्रिम पिसाब थैली बनाई पिसाब फ्याँक्नलाई जीवनभरि ब्याग झुन्ड्याउनुपर्ने स्थिति आउन सक्छ ।' पहिलो अवस्थामै शल्यक्रिया गराउँदा यसको नतिजा धेरै राम्रो रहने उनी बताउँछन् । शल्यक्रियापछि समेत यो क्यान्सर बल्झेर आउने समस्या बढी देखिने गरेको छ । तर फेरि खुक्र्यो भने ठीक हुन्छ । अन्य क्यान्सर बल्झेर आउँदा बाँच्ने सम्भावना न्यून देखिए पनि यसमा भने यस्तो स्थिति नरहेको डा.न्यौपाने बताउँछन् । यो क्यान्सर मूत्रथैलीको तहदेखि सुरु हुने जनाउँदै डा.न्यौपाने भन्छन्, '८० प्रतिशतसम्म यस्ता क्यान्सरका रोगीमा क्यान्सर त्यति खेर थाहा हुन सक्छ जब त्यो बाहिरी तहमै देखिन्छ ।' क्यान्सर जब थैलीको बाहिरी तहबाट सुरु हुन्छ भने यसलाई सुपरफिसियल क्यान्सर भनिन्छ र यो असामान्य कोषिकाभन्दा बेग्लै दागजस्तै देखिन्छ । 'सिजोसोमियासिस' परजीवीको संक्रमणले समेत यो क्यान्सरको खतरा बढाउँछ । लामो समयदेखि मूत्रथैलीको पत्थरीको समस्या भएकाहरूलाई समेत यो क्यान्सरको खतरा बढ्छ । डा.न्यौपानेका अनुसार विकसित मुलुकमा ९० प्रतिशत यस्ता रोगीको पहिचान प्रारम्भिक अवस्थामै गरिन्छ भने नेपालमा भने ९० प्रतिशत बिरामी अन्तिम अवस्थामा उपचारका लागि पुग्ने गरेका छन् । विभिन्न अध्ययनहरू अनुसार धूमपान छाडेको एक दशकसम्ममा समेत पिसाब थैलीको क्यान्सर हुने खतरा रहिरहन्छ । धूमपान गर्नेलाई यो क्यान्सर हुने सम्भावना चार गुनासम्म बढी रहन्छ । 'गत साता पाँच बिरामीको शल्यक्रिया गरियो सबै चुरोटका अम्मली थिए,' डा.न्यौपाने भन्छन्, 'डाइ, लेदर, पेन्टिङ उद्योगमा काम गर्नेहरूमा समेत यो क्यान्सर बढी देखिएको छ ।'
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment