Sunday, 16 December 2012

७ महिनामा पनि बनेन पाँच सय मिटर सडक


रिपोर्टर(हरु): कृष्ण आचार्य

७ महिनामा पनि बनेन पाँच सय मिटर सडक
काठमाडौ, पुस १ - सरकारले उपत्यकामा सडक विस्तार बनाएको बताए पनि ठेक्का भइसकेको १७ महिना बितिसक्दासमेत मैतीदेवी-रातोपुलको पाँच सय मिटर सडक पिच हुन सकेको छैन । विस्तारित सडक अभियान सञ्चालन गर्नुपूर्व नै सम्झौता भएको कमलपोखरी ज्ञानेश्वर खण्डको मैतीदेवी-रातोपुल (ज्ञानेश्वर ओरालोपछि रातोपुलसम्म) सडकका ठेकेदारलाई दलीय संरक्षण रहेकाले निर्माण ढिलाइ भएको भौतिक योजना मन्त्रालयका अधिकारी बताउँछन् । ठेक्का साप/बिरुवा जेबीले ०६८ साउनमा एक करोड २९ लाखमा पाएको थियो । बिरुवा कन्स्ट्रक्सन गृहमन्त्री विजयकुमार गच्छदारले नेतृत्व गरेको मधेसी जनअधिकार लोकतान्त्रिकका केन्द्रीय सदस्य गणेश लामाको हो । लामा गृहमन्त्री गच्छदारको राजनीतिक आवरणमा ठेक्कापट्टा गर्ने ठेकेदार हुन् । काम ढिलाइ गरेको र नियमविपरीत ठेक्का पाएको विषयमा विवाद बढ्दै गएपछि उनी निकटकै युवा राजु सैंजूको नाममा बिरुवा कन्स्ट्रक्सन लामाले नामसारी गरिसकेका छन् । 'कन्स्ट्रक्सन जसको नाममा भए पनि मैतीदेवी-रातोपुल ठेक्का लामाकै मातहतमा छ । गृहमन्त्रीको नजिकको मान्छे भएबापत राज्य संयन्त्रको बेवास्ता गर्दै निर्माणको काम ढिलाइ गरिरहेका छन्,' सडक विभाग मातहतका एक अधिकृतले भने, 'दलीय संरक्षणकै कारण उपत्यका सडक विस्तार आयोजनाले ताकेता गरेर काम लगाउन सकेको छैन । अन्य ठेकेदारलाई भने तीन महिनाभित्र काम सक्नुपर्ने उर्दी जारी गरिएको छ ।' गत कात्तिक ७ गते काम गरिसक्नुपर्ने समय सकिएको छ । समय सकिएको एक महिना बितिसक्दा पनि फुटपाथ निर्माण, पिचलगायतका काम सुस्त गतिमा भइरहेको छ । काठमाडौं सडक डिभिजन कार्यालयले नियमित प्रक्रियाअन्तर्गत ठेक्का प्रक्रियामा १७ महिनाअघि लामाको कन्स्ट्रक्सनसहितको जेबीलाई ठेक्का सम्झौता गरेको हो । छ महिनापछि उपत्यकामा सडक विस्तार सुरु भएपछि आयोजना मातहत पुर्याएको हो । लामाको ठेक्का विषयमा भौतिक योजना मन्त्रालयले छानबिन गरेको थियो । बैंकको ऋण नतिरेर कालो सूचीमा परेका उनले ठेक्का पाएको विषयमा मन्त्रालयले छानबिन गरेको हो ।

'मन्त्रालय र अन्य सरकारी अधिकारीले नै उनको कन्स्ट्रक्सन अर्कोको नाममा गराउन लगाए । ठेक्का दिने अधिकारीमाथि कारबाही भएन,' सडक विभाग सम्बद्ध स्रोतले भन्यो, 'त्यो काम पनि अझै ढिलो हुने र न्यून गुणस्तरीय बन्ने सम्भावना छ ।' सम्झौता लगत्तै लगेको तीस लाख पेस्कीसमेत ठेकेदारले फछ्र्योट गरेको छैन । आयोजना कार्यालयका अनुसार ६० लाख रकम ठेकेदारले लगिसकेको छ । आयोजनाका प्रमुख श्याम खरेलले सडक निर्माणको काम ढिलो भएको स्वीकार गर्दै अब दु्रत गतिमा निर्माण गर्न लगाउने बताए । 'हाम्रो आयोजना मातहतमा ठेक्का आइपुग्दा छ महिना बितिसकेको थियो,' खरेलले भने, 'बिस्तार अभियान सुरु गरेपछि सडक छेउका घरलाई मुआब्जा दिने, भत्काउने, विद्युत पोल हटाउनेलगायत कारणले ढिलाइ भएको हो ।' काम नभएको भनिएको सडक नजिकैको कमलपोखरी ज्ञानेश्वरमध्ये एक किलोमिटर पिच भइसकेको छ । पछि सम्झौता भएको सडक पिच भएर मैतीदेवीको ज्ञानेश्वर ओरालोमा सवारी साधन गुड्न समस्या भएपछि पाँच सयमध्ये करिब पचास मिटर सडक पिचको काम अर्को प्याकेजका ठेकेदारले गरेका छन् । मन्त्रालयका सचिव तुलसी सिटौलाले अझै केही समयभित्र काम पूरा नगरे ठेकेदारलाई कारबाही प्रक्रिया अघि बढाउने बताए । 'ठेकेदारकै बेवास्ताले काम ढिलाइ भएको हो,' उनले भने, 'अबको दुई महिनाभित्र काम सम्पन्न गर्न लगाइन्छ । गरेन भने ठेक्का खारेज गर्ने, हर्जाना लगाउने, लाइसेन्स कालो सूचीमा राख्नेलगायतको कानुनी कारबाही अघि बढाइन्छ ।'

सरकारी निकायले सात महिना ढिलो सम्झौता गरेकाले काममा ढिलाइ भएको लामाले बताए । 'त्यसपछि पनि घर भत्काउने, पोल, तार हटाउने कामले सडक निर्माणमा ढिलो भएको हो,' लामाले भने, 'आयोजनालाई पटक पटक पत्राचार गरी माग्दासमेत उसैले ढिलाइ गरेकोे हो ।' अबको केही महिनाभित्र काम पूरा गरिसक्ने उनले बताए । 'तैपनि त्यो कन्स्ट्रक्सन अर्कैको नाममा नामसारी गरिसकें । उसले काम पूरा गर्छ,' उनले भने ।

No comments:

Post a Comment