Monday, 17 December 2012

तीनै छोरा अशक्त


डोटी, पुस २ - आफूले जन्माएका सन्तानको दीर्घायु कामना हरेक आमाले गर्छिन् । तिनै आमाबाट जीवित सन्तानका लागि मृत्यु पुकार्नु भने कल्पनै गर्न नसकिने कुरा हो । डोटीमा भने एउटी आमा आफ्ना सन्तानको मृत्यु कामना गर्दै हिँडिरहेकी छन् । कोही नयाँ मान्छे भेट्नासाथ उनी बर्बरर आँसु झारेर सन्तानको पिरलो सुनाउँछिन् ।

बाझककानी गाविस-८ स्थित खिना तिरुवा आफ्ना अशक्त ३ छोराले भोग्दै आएको पीडा सहन नसकी यस्तो बिलौना गरेकी हुन् । खिनाका छोराहरू १८ वर्षीय गोपी, १६ वर्षीय दली र १२ वर्षीय करी पूर्ण अशक्त छन् । घरमा एक्ली रहेकी खिना तिरुवालाई अशक्त सन्तान पाल्न धौ-धौ परेको छ । साँझबिहान छाक टार्न समस्या हुने उनको परिवारको अवस्था अत्यन्तै दयनीय छ । खिना आफू पनि शारीरिक रूपले अशक्त रहेकाले छोराहरूको स्याहार सुसारमा समस्या हुने गरेको बताउँछिन् । 'अशक्त छोरालाई बाहिर भित्र गराउन पनि उचाल्नु बसाल्नुपर्छ,' खिनाले भनिन्, 'छोराहरूको दुःख देख्न सक्दिन, यस्तो दुःख भोग्नुभन्दा मरिदिएको भए हुने थियो ।' छोराहरूलाई दिसापिसाब गराउनेदेखि खाना खान पनि अर्कैले सघाउनुपर्छ ।

उनीहरूमा गोडा नचल्ने, शरीरको माथिल्लो भाग पनि नचल्ने, स्पष्ट बोल्न नसक्ने तथा मानसिक अवस्था कमजोर छ । उनीहरूको यस्तो अवस्था दस वर्ष कटेपछि सुरु भएको खिनाले बताइन् । 'सानो छँदा स्कुल जाने, हाँस्ने खेल्ने गर्थे, १० वर्ष पुगेपछि सबै छोराका गोडा नचल्ने तथा मानसिक रूपले कमजोर भए,' उनले बताइन् । जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट फणीन्द्र बरालले उनीहरूमा पोलियोका कारण शारीरिक अशक्तता भएको हुन सक्ने बताए ।

यसको पुष्टि परीक्षणपछि मात्र हुन सक्ने भन्दै डा. बरालले लक्षण पोलियो रोगकै भएको बताए । आमा खिनाले छोराहरूको औषधोपचार गर्नभन्दा पनि खानाको जोहो गर्न नै आफ्ना लागि ठूलो समस्या भएको बताइन् । उनीहरूको अवस्था देखेर छिमेकीसमेत दुःख व्यक्त गर्छन् । 'हामीले सक्दो सहयोग त गरिरहेका छौं,' छमेकी दुर्गा तिरुवाले भनिन्, उचालेर बसालेर बाहिर-भित्र गर्नु परेकाले सधैं हामीले सहयोग गर्न सक्दैनांै, आफ्नै पनि पारिवारिक काम हुन्छन् ।' उनीहरूलाई महिला तथा बालबालिका विकास कार्यालयले दुई महिनाअघि पूर्ण अशक्त परिचयपत्र दिएको हो ।

No comments:

Post a Comment