Sunday, 16 December 2012

६० लाख चोर्ने कामदार झ्याइडाँडामा पक्राउ



काठमाडौ, पुस १ - हिरा, सुन, चाँदीलगायत बहुमूल्य गहना र नगद चोरेर फरार रहेका दुईजना अभियुक्तलाई पक्राउ गरी प्रहरीले आज सार्वजनिक गरेको छ ।

चोरीको अभियोगमा पक्राउ गरिएका काभ्रे कुशादेवी-७ घर भई कीर्तिपुर बस्ने लोकनाथ सापकोटा र धनकुटा साने-८ भई कीर्तिपुर-७ बस्ने रेश्मा राईलाई महानगरीय प्रहरी परिसर हनुमानढोकाले पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो ।

गत मङ्सिर २७ गते काठमाडौंको लाजिम्पाट बस्ने राजेन्द्र घिरैयाको घरबाट ती दुई अभियुक्तले सुनचाँदीलगायतका गरगहना र नगदी गरी रु ६० लाख बराबरको धनमाल चोरी गरेका थिए । अभियुक्तमध्ये सापकोटा ११ महिनादेखि सो घरमा खाना पकाउने काम गर्दै आएका थिए भने राईले डेढ महिनाअघि मात्र सो घरमा काम गर्न सुरु गरेकी थिइन् ।

सामान चोरी गरेलगत्तै फरार रहेका अभियुक्तहरूलाई प्रहरीले मकवानपुरको चाखेल झ्याइडाँडाबाट पक्राउ गरेको थियो । अभियुक्तहरूले सम्पूर्ण योजनासहित नक्कली साँचो बनाएर घरधनी बाहिर गएको मौका छोपेर धनमाल चोरी गरेका थिए ।

अभियुक्तहरूले हिरा, सुन, चाँदीका गहनाका अतिरिक्त विदेशी मुद्रा, विभिन्न मुलुकका पुराना सिक्का, घडी, पोते, माला, क्यामेरा चोरी गरेको महानगरीय प्रहरी परिसर हनुमानढोकाका उपरीक्षक गणेशबहादुर थापाले जानकारी दिए । रासस

No comments:

Post a Comment