Sunday, 16 December 2012
साउदी अरबमा डेढसय नेपाली कामदारको विचल्ली
दमाम, पुस १ -
साउदी अरबको पूर्वी क्षेत्रको दमामशहर अन्तर्गत पर्ने अलदैया स्थित अल–अब्दुल रहमन कन्ट्रयाक्टिङ एण्ड ट्रेडिङ कम्पनिमा कार्यरत १५० भन्दा बढी नेपाली कामदारहरू नौ महिना अघिदेखि विचल्लीमा परेका छन् ।
विचल्ली पर्नेमा नेपाल, भारत, फिलिपिन्सलगायत विभिन्न देशका श्रमिकहरूको संख्या २५० बढि रहेको छ । करिब तीनसयको संख्यामा रहेका कामदारहरूमध्ये २५० विचल्लीमा परेपछि बाँकी पचास कामदारहरू पनि जोखिममा परेका छन् ।
बेरोजगार साउदी नागरिकहरूको बृद्धी हुँदै गएपछि साउदी सरकारले ल्याएको नयाँ नीतिका कारण धेरै नेपाली कामदारहरूले दुःख झेल्नु परेको हो । पीडित मध्ये खगेश्वर तिमिल्सिनाका अनुसार नयाँ नीति अन्गर्गतका विदेशी कामदार राख्नका लागि केही नियमहरू कम्पनीले पूरा गर्नु पर्ने हुन्छ त्यो पुरा गर्न नसक्दा विचल्ली हुने कामदारहरूको संख्या दिनप्रतिदिन बढिरहेको छ ।
कामदारहरूको म्याद नाघिसक्दा पनि नविकरण गर्न नसकेको, जसको कारण इन्स्युरेन्स पनि नभएको, कम्पनिले विगत नौ महिनादेखि तलब पनि नदिएकोले पकेटखर्चको अभावमा टेलिफोन र औषधोपचारमा कठिनाई भएको, करारनामा पूरा भएकाहरूले घरविदा वा एक्जिटको लागि आवेदन दिंदा पनि छ महिनादेखि घर पठाउन नसकेको जस्ता समस्या रहेको बताइएको छ ।
समाधानका लागि कामदारहरूलाई कम्पनी मालिकसम्म आफ्ना समस्या राख्न समेत रोकटोक गरिने र दूतावास या लेबर कोर्ट पुगेमा “तिमीहरूको सुरक्षा तिमीहरू नै गर्नू, कम्पनीको सुरक्षा कम्पनीले गर्छ” भन्दै तर्साउने गरेकोले अन्य विकल्प सोच्न नसकी चार नेपाली कामदाहरू कम्पनी छोडेर भागिसकेको बताइएको छ ।
पन्ध्र दिनअघि आफ्नो व्यक्तिगत कामको शिलशिलामा घुम्दैजाँदा गैरआवासीय नेपाली संघ साउदीका सदस्य विष्णुप्रसाद चापागाईंले यो समस्या थाहा पाएपछि पीडित नेपालीहरूको उद्धारका लागि गैरअवासीय नेपाली संघमा राखेको र तीन पटकको अथक प्रयासपछि पीडित नेपालीहरूसँग गैरआवासीय नेपाली संघ साउदी अरबका प्रमुख सल्लाहकार तारा भण्डारी, अध्यक्ष धरम केसी, उपाध्यक्ष पुरूषात्तम श्रेष्ठ र सदस्य विष्णुप्रसाद चापागाईले सामुहिक रूपमा भेटघाट गरी छलफल गर्दा उनीहरूका थप समस्याहरू सार्वजनिक भएको बताइएको छ । यी समस्याहरूको वस्तुस्थिति बुझेर छिटो भन्दा छिटो उद्धारको पहल गर्न संस्थाले नेपाली दूतावास रियादलाई पनि गैरअवासीय नेपालीसंघले पत्राचार गरेको छ ।
बिचललीमा परेका नेपालीहरु ८३ हजारदेखि १ लाख १० हजार रुपैयाँसम्म मेनपावर एजेन्सीलाई तिरेर आएकाहरु हुन् ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment