Sunday, 16 December 2012
मृत्युदण्ड छैन, सजायँ चाहिं मर्नेगरी
१ पुस, काठमाण्डौ । नेपालमा मृत्युदण्डसम्बन्धी कानून छैन । तर, मृत्युदण्डको व्यवस्था नभए पनि न्यायाधीशहरुले सजायँ भने मर्नेगरी नै तोक्न थालेका छन् । बाँके जिल्ला अदालतका न्यायाधीश शेखरप्रसाद पौडेलले अपहरण र बालहत्यासम्बन्धी मुज्ञामा शुक्रबार ७८ वर्षको जेल सजायँ सुनाएका छन् । तर, नेपालमा यो नै सबैभन्दा लामो जेल सजायँचाहिँ होइन । यसअघि सिन्धुपाल्चौकका जिल्ला न्यायाधीश अनन्तराज डुम्रेले एक व्यक्तिलाई चेलीबेटी बेचबिखनको मुद्दामा १ सय ७० वर्षको जेल सजायँ सुनाइसकेका छन् ।
न्यायाधीश डुम्रेको एकल इजलासले शिखरपुर-९ सिन्धुपाल्चौकका ३७ वर्षाय प्रेम भन्ने बजिरसिंह तामाङलाई तोकेको १ सय ७० वर्षको जेल सजायँ नै शायद नेपालको आधुनिक न्यायप्रणालीमा सबैभन्दा लामो सजायँ हो । तामाङलाई ६ जना चेलीबेटी बेचबिखन गरी देहव्यापारमा लगाएको आरोपमा सबैको सजायँ जोडेर त्यति लामो जेल सजायँ तोकिएको हो । ०६७ मंसिरमा पक्राउ परेका तामाङले माथिल्लो अदालतबाट फरक फैसला नआए अब जीन्दगीभर, अझ मरेपछि पनि जेलमै बस्नुपर्नेछ ।
त्यसैगरी दुई स्कुले बालकको अपहरणपछि हत्या गरेको आरोपमा बाँकेमा मेराज अहमद साईलगायत ८ जनालाई जिल्ला न्यायाधीश पौडेलले शुक्रबार सर्वस्वसहित ७८ वर्ष कैद सजाय सुनाएका छन् । दुई बालक कपिलदेव द्वीवेदी र लीलाधर भट्टको अपहरण र हत्या गरेको अभियोगमा यो सजायँ सुनाइएको हो । उनीहरुलाई ज्यानमारेको अभियोगमा २०/२० वर्ष (जन्मकैद), अपहरण तथा शरीर बन्धक बनाएकोमा १५/१५ वर्ष, थप दुईवर्ष र नाबालकको हकमा अझै दुई/दुई वर्ष थप गरी एकजनाको ३९ वर्ष कैद ठेकिएको हो ।
दुईजनाको हत्या गरेकाले उनीहरुले दोब्बर अर्थात् ७८ वर्ष जेल बस्नुपर्ने भएको हो । न्यायाधीश पौडेलको इजलासबाट ७८ वर्षको कैद सजायँ पाउनेमा कैलाशकुमार गडरिया, रामशोभित कुर्मी, राजितराम कुर्मी, वर्षाति भन्ने नजिर खाँ, इब्राहिम मनिहार, रज्जब साई र इन्साफ अलि छन् ।
मृत्युदण्डको माग
नाबालक हत्यामा ७८ वर्षको कैद सजायँ तोकिएपछि अनलाइनमा आएका समाचारहरुमा प्रतिक्रिया दिँदै अधिकांश पाठकहरुले नेपालमा मृत्युदण्डको कानून चाहिने बताएका छन् । तर, ०४७ सालको संविधानपछि नेपालमा मृत्युदण्डको कानून बनाउन नपाइने व्यवस्था गरिएकाले त्यस्तो कानून हामी कहाँ छैन । कुनै नेपालीलाई देश निकाला गर्न पनि नपाइने संवैधानिक व्यवस्था नेपालमा छ ।
सरकार र माओवादीवीच सम्पन्न वृहत् शान्ति सम्झौतामा समेत कसैलाई मृत्युदण्ड नदिइने स्पष्ट उल्लेख गरिएको छ । सम्झौताको बुँदा नं ७.२.१.मा भनिएको छ- ‘दुबै पक्षले व्यक्तिको बाँच्न पाउने आधारभूत अधिकारको सम्मान र संरक्षण गर्दछन् । कसैलाई पनि यो आधारभूत अधिकारबाट वञ्चित गरिने छैन तथा मृत्युदण्ड दिइने गरी कुनै पनि कानुन बनाइने छैन ।’
तर, अहिलेसम्म व्यक्तिहत्यामा संलग्नले पाउने सर्वस्वसहित जन्मकैद (२० वर्ष)को सजायँलाई नै सबैभन्दा ठूलो सजायँ मानिँदै आएकोमा सामुहिक हत्या एवं एकभन्दा बढी अपराधमा संलग्न व्यक्तिलाई न्यायधीशहरुले १ सय ७० वर्षसम्म जेल सजायँ तोक्न थालेपछि यसले मृत्युदण्डको विकल्पका रुपमा काम गर्ने अनुमान लगाउन थालिएको छ ।
नेपालमा मानव अधिकारवादीहरुको आग्रहका आधारमा मृत्युदण्डलाई हटाइए पनि भारत, अमेरिकाजस्ता लोकतन्त्रका हिमायती मानिने मुलुकहरुमा पनि मृत्युदण्डको कानूनी व्यवस्था रहेको छ । तर, खुनी अपराधीहरुले मृत्युदण्ड नपाउनुलाई नै मानवअधिकार मान्ने हो भने संसारमा कहीँ नभएको उच्चस्तरको मानवअधिकार नेपालमा मात्रै छ भनेर हामीले गर्व गर्नुपर्छ ।
अमेरिकामै लामो सजायँ भोग्दैछन् नेपाली
व्यक्तिलाई लामो जेल सजायँ सुनाउने प्रचलन नेपालमा नयाँ चलेको होइन । यस्तो लामो सजायँ सुनाउने प्रचलन विश्वका अन्य अदालतमा पनि छ ।
त्यसो त अमेरिकाको क्यालिफोर्निया राज्यको योलो काउन्टीस्थि एक स्थानीय अदालतले ४२ वर्षीय नेपाली नागरिक अजयकुमार देवलाई ७२ वर्षको कैद सजाय सुनाएको छ । जबरजस्ती करणी एवं वालिकालाई करणी गरेको जस्ता थुप्रै अभियोगमा उनलाई ७२ वर्ष जेल बस्नुपर्ने निर्णयसहित ७ अगष्ट २००९ देखि त्यहाँ जेल चलान गरिएको हो ।
देवको यौन कर्तुत
देवसम्बन्धी मुद्दाबारे अमेरिकाको बोस्टनबाट प्रकाशित हुने नेपालीखबरले समाचारमा लेखेको थियो- ‘आफ्नै धर्मपुत्रीलाई बलात्कार गरेको अभियोगमा क्यालिफोर्निया राज्यको योलो काउन्टीको एक स्थानीय अदालतले ४२ वर्षीय नेपाली नागरिक अजयकुमारलाई ७२ वर्षको कैद सजाय सुनाएको छ । पीडित युवतीले दिएको किटानी जाहेरीका आधारमा क्यालिफोर्निया प्रहरीले गरेको लामो अनुसन्धानका क्रममा उनी दोषी ठहरिएका हुन् । सन् १९९९ मा टाढाको नाता पर्ने एक युवतीलाई नेपालबाट धर्मपुत्रीका रुपमा अमेरिका ल्याएका देवले सन् २००४ सम्म उनलाई लगातार यौन शोषण गरेको अभियोगपत्रमा उल्लेख छ ।
पीडित बालिका १८ वर्षकी भएर स्याक्यराक्यान्टो सिटी कलेजमा पढ्दासम्म पनि उनलाई बलात्कार गर्ने क्रम जारी रहेको अभियोगपत्रमा भनिएको छ । २००४ को डिसेम्बरमा पीडित युवती देवको घर छोडेर अन्यत्र बस्न गएपछि पनि उनले आफ्नो कुकर्म छाडेनन् । शारीरिक सम्पर्क राख्न नदिएमा गोली हानी मारिदिने र आफूले पनि आत्महत्या गर्ने धम्की दिएको युवतीले बताएकी छन् । धर्मपुत्रीका रुपमा राखेका देवले उनलाई पैसा दिएर फकाउँदै यो कुरालाई सार्वजनिक नगर्न धम्की दिने गरेका थिए । खानतलासीका क्रममा प्रहरीले देवको घरबाट वालवालिकासम्बन्धी अश्लील चलचित्रहरुसमेत बरामद गरेको छ । पुलिस स्रोतका अनुसार निज देवले उक्त चलचित्र हेर्न लगाई जवरजस्ती करणी गर्ने गर्दथे ।
पीडित महिला सन् २००६ मै नेपाल फर्किएकाले घटना भएको दुई वर्षसम्म पनि उक्त मद्दा दर्ता हुन पाएको थिएन । दिदीको बिहेमा नेपाल र्फकेकी उनलाई जन्म मिति नमिलेको पासपोर्ट बनाएको भन्दै देवले गिरफ्तार गर्न लगाएका थिए । उनी फेरि अमेरिका नफर्किउन् र आफ्नो कर्तुतबारे कसैलाई जानकारी नहोस् भनेर उनले पीडित युवतीलाई फसाउने प्रयास गरेका थिए । तर, झुठो पासपोर्ट बनाएको आरोप प्रमाणित हुन नसकेपछि काठमाडौस्थित अमेरिकी दुतावासको सहयोगमा नयाँ पासपोर्ट बनाएर उनी अमेरिका फर्किन सफल भइन् र देवमाथि कानुनी कारवाहीका लागि मुद्दा दायर गरिन् ।
आरोपी अजयकुमार १३ वर्षको उमेरमा आफ्ना बुवा-आमाको साथ लागेर अमेरिका पुगेका हुन् । उनी सिकागो राज्यबाट इन्जिनियरिङ्ग विषयमा स्नातक गरी क्यालिफोर्निया वाटर रिर्सोस बोर्डमा इन्जिनियरका रुपमा कार्यरत थिए । उनी एसोसियसन अफ नेप्लिज इन अमेरिका (एएनए) को कार्यकारी सदस्यका रुपमा पनि कार्यरत थिए । उनले एएनएको सम्मेलनमा कोषाध्यक्ष पदका लागि उम्मेदवारी पनि दर्ता गराएका थिए ।’
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment