मुगु, पुस १ - सडक यातायातले नछोएको कर्णाली अन्चलको दुर्गम जिल्ला मुगुमा पहिलो पटक आइतबार गाडी पुगेको छ । आइतवार उक्त सडक खण्डको उद्घाटन प्रधानमन्त्री डा बाबुराम भट्टराईले गरेपछि राष्ट्रिय सडक सन्जालमा मुगु ७३ औ स्थानमा परेको छ ।
०६४ चैत १२ गतेदेखि मुगु गमगढी-नाग्मा सडक खण्डको ९४ किलोमिटर निर्माण कार्य पूरा भएपछि मुगुमा गाडी पुगेको हो । सडक खण्डको निर्माण कार्यको जिम्मा नेपाली सेनाले लिएको थियो । प्रधानमन्त्री डा भट्टराईले मोटरबाटो उद्घाटन गर्दै प्रधानमन्त्री डा भट्टराईले मुगुमा गाडी पुगेपछि मुगालीको बिकासको ढोका खुलेको बताए । सरकारले कर्णालीको विकासलाई पहिलो प्राथमिकतामा राखेकोसमेत उनले दाबी गरे । 'अब गाडी पुगिसक्यो', मोटर पुगेको खुशीयालीमा सामेल सर्वसाधारणसंग उनले आग्रह गरे-अब पनि धेरै सरकारको मुख ताकेर नबस्नुहोला । स्याउ, जडिबुटी र तरकारी उत्पादन गरि शहर पठाउन जागरुक हुनुहोला ।
कर्णालीको जडिबुटी, जलस्रोत र पर्यटकियस्थलको स्तरउन्नतीको लागि पहिलो प्राथमिकता दिन सके देशले काँचुली फेर्ने प्रधानमन्त्रीले बताए । 'त्यसैका लागि सरकारले कर्णाली विकास आयोग समेत गठन गरेको छ'- उनले भने ।
गमगढी नाग्मा सडक स्तर उन्नती र कालोपत्रको लागि सरकार बाट बजेटको अभाव हुन नदिने अर्थमन्त्री बर्षमान पुनले बताए । अब खाद्यान्न संकट ब्यर्होनु नपर्ने आशा व्यक्त गर्दै यहाँ उत्पादित स्याउ, सिमि र आलुले बजार पाउने भएकाले उत्पादन बढाउन उनले आग्रह गरे । गमगढी नाग्मा सडक खण्ड निर्माणको लागि सरकारबाट निकासा भएको १ अर्ब ५८ करोडमध्ये ५४ करोड २४ लाख मात्र खर्च भएको सडक निर्माण कार्यदलका संयोजक सेनाका सेनानी सन्जय केसीले बताए ।
सर्वसाधारणले भने सदरमुकाममा गाडी पुर्याएर सरकार पन्छिन नपाउने बताएका छन् । मुगुको मुख्य व्यापारिक नाका तिब्बतसम्म सडक बिस्तारको लागि उनीहरुले प्रधानमन्त्री र अर्थमन्त्रीसंग आग्रह पनि गरे ।
'सदरमुकाममा गाडी पुर्याएर सरकार उम्किन पाउदैन्' प्रधानमन्त्रीलाई स्वागत गर्दै एमाले नेता मोहन बानियाँले भने,- यहाँको तिब्बत सडक निर्माण प्रारम्भ हुनुपर्छ । मुगुदेखि हुम्ला सिमिकोट जोड्ने सडक योजना ल्याउनुपर्छ । जिविसका पूर्व सभापति समेत रहेका उनले सडकसँगै विकासका अरु पूर्वाधार पनि विकास गर्न आग्रह गरे ।
गाडी हेर्न आतुर भएका मुगुबासीले पहिलो पटक २१ वटा गाडीको लस्कर सदरमुकाममा देखेर उत्साहित भए । आइतबार सदरमुकाममा गाडी आउने खबर सुनेपछि बिभिन्न गाविसबाट स्थानियबासीको घुइँचो लागेको थियो । गाडी आउने खबर पाएपछि पिना गाविसकी ६९ बर्षीय नन्ददेबी बिक दुई घण्टा हिडेर आएको बताईन् । उनले यसअघि गाडी नदेखेको पनि बताएकी छिन् ।
'अब भोकभरी हटने भयो । सस्तो मुल्यमा चामल, तेल, मैदा र नुन खान पाईने आशामा छु'- नन्ददेबिले खुशी हुदै भनिन्- मलाई अझै गाडी आउँछ भनेर पत्यार लागेको थिएन । एकैचोटी मोटरको लस्कर देख्दा खुशी लाग्यो ।
पहिलो पटक गाडी पुगेको खुशियालीमा स्थानियले फुलमाला र अबिरका साथै हुड्के नाच दमाह नाच लगायत कला साँस्कृति प्रस्तुत स्वागत गरेका थिए । गमगढी नाग्मा सडक खण्ड समुद्री सतहदेखि ११ हजार फिट उचाईमा रहेको छ । उक्त सडक खण्डमा जुम्लाको १० वटा गाविस र मुगुको एउटा पिना गाविसले मात्र छोएको छ ।
No comments:
Post a Comment