Sunday, 16 December 2012
देश सहमतितिर अघि बढ्यो: प्रचण्ड
16.12.12 NST
राष्ट्रपति रामवरण यादवले सहमतीय सरकार बनाउन दलहरुलाई दिएको चौथो समयसीमा सकिनु एक दिनअघि, एकीकृत माओवादीका अध्यक्ष प्रचण्डले प्रमुख दलहरुबीच सोमबार सांझसम्म सहमति जुट्ने संभावना रहेको बताएका छन्।
यहि सरकारले चुनावको मिति घोषणा गरेपछि नेपाली कांग्रेसलाई नेतृत्व दिनेगरि सहमति जुट्न लागेको भन्ने विवरणहरु बाहिर आएका छन्।
तर विपक्षी दलहरुले चाहीं प्याकेजमा सहमतिको दस्तावेज तयार नभएसम्म आशावादी हुन नसकिने प्रतिक्रिया दिएका छन्।
प्रमुख दलहरुबीचका अनौपचारिक वार्ताहरुकामाझ शितल निवास पुगेका प्रचण्डले सोमवार साँझसम्म सहमति जुटाउने प्रयास आफुले गरिरहेको जानकारी राष्ट्रपतिलाई दिएको राष्ट्रपतिका प्रेस सल्लाहकारले बताए।
‘सहमति नजिक’
प्रचण्डले संवाददाताहरुलाई राष्ट्रपतिसंगको भेटमा सहमतिका प्रयासहरुबारे समिक्षा गरिएको बताए।
“अनौपचारिक वार्तामा भएका प्रगतिबारे कुरा भयो, सोमबार साँझसम्म सहमति जुट्ने संभावना छ।”
“अब देश सहमति तिर अघि बढ्यो।”
एकीकृत माओवादीका सचिव पोष्टबहादुर बोगटीका अनुसार वर्तमान सरकारले वैशाख वा जेठमा चुनाव घोषणा गर्ने र यस्को सम्मानजनक बहिर्गमनपछि नेपाली कांग्रेसको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउन सहमति गर्ने दिशामा वार्ताहरु अघि बढिरहेका छन्।
संविधानको अन्तरवस्तुमा पहिले सहमति गरौं भन्ने प्रमुख सत्ताधारी दलको शर्त नेपाली कांग्रेसले नमानेका कारण यसअघिका वार्ताहरु परिणामविहिन भएका थिए।
आशंका
नेपाली कांग्रेसको नेतृत्वलाई स्वीकार गरिसकेको विपक्षी नेकपा एमालेका नेता भीम रावलले चाहीं वार्ताहरु सकारात्मक देखिएपनि प्याकेजमा सहमति नभएसम्म ढुक्क हुन नसकिने टिप्पणी गरे।
“विगतमा एकीकृत माओवादीका अध्यक्ष र मोर्चाका नेताहरु सहमतिबाट पछि हट्ने गरेकोले सहमतिको दस्ताबेज तयार नभएसम्म यसै भन्न सकिंदैन।”
राष्ट्रपतिले दिएको समयसीमा समाप्त हुने दिन आइपुगे पनि समग्र विषयमा सहमति जुटाउन प्रमुख राजनीतिक दलहरुबीच औपचारिक वार्ता भएको छैन।
दलहरुबीच लेनदेन र सुल्झाउनु पर्ने मुद्दाहरु बाँकी रहेकोले सोमबार साँझसम्ममा ठोस सहमति हुने आश्वासनप्रति आशंकाहरु हटिसकेका छैनन्।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment