Sunday, 16 December 2012

रक्तचन्दनको रक्सीमा रमाइलो


काठमाडौ, कांग्रेस जिल्ला सभापतिहरूको भेलामा पार्टी गुटबन्दीका कुरा र सहमतीय सरकारका लागि पार्टीले प्रधानमन्त्रीको उम्मेदवार तय गर्न नसकेको भन्दै नेतृत्वप्रति व्यक्त आक्रोशले सिन्धुपाल्चोकको बाह्रबिसे यो साता निकै तात्यो । बाह्रबिसे तताउने जिल्ला सभापति र नेताहरूलाई तताउने काम भने रक्तचन्दनको रक्सीले गरेको थियो । भेलाका लागि भनेर स्थानीयस्तरमै उत्पादन गरिएको रक्सीले निकै चर्चा र वाहवाही पायो । कार्यक्रमस्थलमा आयोजक पक्षद्वारा चर्चा चलाइए अनुसार रक्तचन्दन मिसाइएको कोदोद्वारा निर्मित 'ओर्जिनल लोकल' थियो त्यो । खानपानका क्रममा 'सिन्धुलीको बँदेल' भन्दै खुवाउनेहरू र खानेहरू निकै उत्साहित पनि देखिन्थे । दिउँसो बाह्रबिसेलाई तताउने र राति आफू तात्ने नेताहरू 'रक्तचन्दनको रस'मा लठ्ठ परेका दृश्यहरू हेर्नलायकको थियो । संसदीय विभागको संयोजकबाट राजीनामा दिने घोषणा गरेका नेता पूर्णबहादुर खड्का रात परेपछि मदिरामा लठि्ठएर सञ्चारकर्मीहरूलाई कार्यालयमा फोन गर्न लगाई आफ्नोबारे समाचार नछुटाउन सतर्क गराइरहेको दृश्य पनि रोचक थियो । उनी 'यसो र उसो' भन्दै आफ्नो समाचारमा लेखिनुपर्ने 'भाषा, शैली र शब्दहरू'समेत सञ्चारकर्मीलाई सिकाइरहेका थिए । विमलेन्द्र निधि लगायतका केही नेताहरूले भेलालाई तातोपानी घुम्ने मौकाका रुपमा समेत प्रयोग गरे । सुजाता कोइरालाले 'बाह्रबिसेमा निद्रा नलाग्ने' भन्दै काठमाडौ हुँइकिएपछि साँझ केही नेता र सञ्चारकर्मीहरू मदिरामा लठि्ठएर अनेक तर्क र टुक्का जोड्दै उनको कुरा काटेर रमाइलो गर्न पनि पछि परेनन् ।

No comments:

Post a Comment