Sunday, 16 December 2012

महासंघले लियो संघईको पक्ष


काठमाडौ, पुस १ - उद्योग वाणिज्य महासंघले त्रिवेणी प्लास्टो पोलिमर्सका सञ्चालक गोविन्दलाल संघईलाई सरकारी किर्ते कागज तयार गरी पेस गर्नुपर्ने आधार नदेखिएको बताएको छ । उक्त सम्बन्धमा त्रिवेणी ग्रुपको तर्फबाट महासंघको सचिवालयमा उपलब्ध कागजातका प्रतिलिपिलाई अध्ययन गर्दा नक्कली कर चुक्ता प्रमाणपत्रसम्बन्धी कागजात सम्बन्धित निकायमा पेस गर्नुपूर्व नै कर चुक्ता गरिसकेको तथ्य प्रमाणित भएको दाबी महासंघले विज्ञप्तिमार्फत गरेको छ । 'कर चुक्ता गरिसकेपछि सरकारी निकायबाट आवश्यक कागजात पाउनु करदाताको नैसर्गिक अधिकार हो र त्यस्तो कागजाद अर्को नक्कली बनाउनुपर्ने कुनै आधार देखिँदैन,' विज्ञप्तिमा उल्लेख छ । यसरी कर चुक्ता गरिसकेका व्यवसायीलाई किर्ते कागजात पेस गरेको भनी आरोप लगाएर हिरासतमा राखिँदा उद्योगी व्यवसायीको मनोबलमा नकारात्मक असर पर्न जाने महासंघको जिकिर छ । संघईलाई नक्कली कर चुक्ता प्रमाणपत्र पेस गरेको अभियोगमा प्रहरीले नियन्त्रणमा लिएको थियो ।

No comments:

Post a Comment