Monday, 17 December 2012

डाटा सुरक्षित राख्ने सामग्रीको बजार बढ्दो



काठमाडौ, पुस २ - राजधानीको एक उच्चमाविमा अध्ययन गर्ने रिकेश प्रजापतिसँग ४ जीबी क्षमताको पेनड्राइभ छ । त्यसमा उनले कलेजका केही एसाइन्मेन्ट, केही गीत, एउटा हिन्दी फिल्म, केही साताअघि पिकनिक जाँदाका तथा गर्लफ्रेन्डका केही तस्बिर र केही अरूलाई बताउनै नमिल्ने सामग्री राखेका छन् । घरको कम्प्युरटरमा हुँदा अरूले हेरिदिने भएकाले उनी ती सामग्रीले भरिएको पेनड्राइभ हमेसा आफूसँगै राख्छन् । कम्प्युटरसामु बसेका बेला त्यसलाई प्रयोग गर्छन् ।

उनले त्यो पेनड्राइभ ५ सय रुपैयाँमा किनेका हुन् । 'पेनड्राइभले डाटा बोकेर हिँड्न र अरूबाट सुरक्षित राख्न निकै सजिलो भएको छ,' उनले सुनाए । उनी पछिल्लो पुस्ताका स्टोरेज डिभाइस प्रयोग गर्ने प्रतिनिधि पात्र हुन् । उनलाई यसअघि डाटा स्टोर गर्न 'फ्लपी डिस्क' प्रयोग गरिन्थ्यो भन्ने जानकारी छैन । चुम्बकीय टेप प्रयोग गरिएका वर्गाकार फ्लपी सन् १९६० देखि निरन्तर प्रयोगमा थिए । प्रविधिमा आएको द्रुत विकासले सन् १९९९ देखि ती उत्पादनमा छैनन् । अधिकतम २ सय एमबी क्षमताका साढे ३ इन्चका यी डिस्क अहिले कसैले इतिहास बचाउन मात्रै राखेका होलान् । प्रविधिको विकासले त्यस्ता हजारौं एमबी (१०२४ एमबीको १ जीबी) एउटै पेनड्राइभमा अटाउँछ । पेनको आकारमा हुने ती ड्राइभ बजारमा १ सय ३० जीबीसम्मका पाइने कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान) का सदस्य पवन शर्मा बताउँछन् ।

प्रविधिको विकाससँगै कम्प्युटरमा डिजिटल सामग्रीको प्रकार पनि बढ्दै गएको छ । यसले गर्दा स्टोरेज डिभाइस बढी क्षमताको माग हुन थालेको व्यवसायी बताउँछन् । डाटा, तस्बिर, फिल्म, भिडियो, नक्सा, गेमलगायत अनगिन्ती सामग्रीको डिजिटल फम्र्याट सेभ गरेर राख्न स्टोरेज डिभाइसको प्रयोग गरिन्छ । व्यक्तिले बोक्ने सामान्य डाटादेखि बैंक, टेलिकम कम्पनीलगायतका अधिक डाटासमेत तिनै डिभाइसमा स्टोर गरेर राखिन्छ । मोबाइल, क्यामरामा प्रयोग हुने मेमोरी कार्ड, डाटा बोकेर हिँड्न मिल्ने पेनड्राइभ, सीडी, डीभीडी हुँदै भर्खरै बजारमा आएको ब्लु-रे, कम्प्युटर, ल्यापटप, ट्याब्लेटका इन्टरनल हार्डडिस्क, बोकेर हिँड्न मिल्ने एक्स्टर्नल हार्ड डिस्क, नेटवर्कमा बाँधिएका कम्प्युटरका सामग्री संग्रह गरेर राख्ने नेटवर्क एट्याच्ड सर्भर (एनएएस), लाइनर टेप ओपेन (एलटीओ वा टेप ड्राइभ), डाइेक्ट टु होम (डिटिएच) ले प्रसारण रेकर्ड गरेर राख्ने डिजिटल बक्स हुँदै अत्याधुनिक प्रविधिका रूपमा आएको सोलिड स्टेड ड्राइभ (एसएसडी) सम्मले स्टोरेज डिभाइसको काम गर्छन् ।

बजारमा सुरुमा १ सय २८ एमबी क्षमतादेखिका पेनड्राइभ पाइन्थे । 'क्षमता बढी र मूल्यमा आएको गिरावटले ग्राहकले थोरै क्षमताका पेनड्राइभ खोज्नै छाडेका छन्,' पुतलीसडस्थित मोनालिसा इन्फोसिसका प्रबन्धक विजय केसी बताउँछन् । अहिले बजारमा ४, ८ र १६ जीबीका पेनड्राइभ बढी चल्तीमा रहेको उनले जानकारी दिए । सनडिस्क, किङस्टन, एडाटालगायत ब्रान्डका वारेन्टी भएका पेनड्राइभ ४ जीबीको ५ सयदेखि ८ जीबीको ७ सयदेखि र १६ जीबीको १ हजार २ सय रुपैयाँदेखि बजारमा किन्न पाइन्छन् । यस्ता पेनड्राइभ सामान्य डाटा साटफेर गर्नदेखि अडियो/भिडियो प्लेयरमा भिडियो हेर्न/गीत सुन्न धेरै प्रयोग हुन थालेको छ । 'पेनड्राइभ जोडेर सीधै बजाउन मिल्ने डिभाइसहरू बजारमा पाइन्छन्,' केसीले भने, 'माइक्रो, बस, ट्याक्सीलगायत सवारी चालकले गीत भरेर अडियो प्लेयरमा बजाउन यस्ता पेनड्राइभ बढी प्रयोग गर्छन् ।'

मोबाइल, क्यामरामा राख्ने सानो आकारका मेमोरीकार्डको समेत धेरै प्रयोग हुने गरेको छ । हरेकका हातमा मोबाइल हुन्छन् । तिनमा गीत सुन्न, भिडियो हेर्न मेमोरीकार्डले धेरै सहज बनाएको छ । बजारमा २ सय रुपैयाँदेखिका मेमोरीकार्ड उपलब्ध छन् । केही मोबाइल किन्दा ग्राहकले मेमोरीकार्ड सित्तैमा पाउँछन् । कलर्सको एन्ड्रोइड सेट किन्दा ८ जीबीको मेमोरीकार्ड सित्तैमा दिइने टेलिटककी मार्केटिङ म्यानेजर गीता न्यौपाने बताउँछिन् । मोबाइल र क्यामरामा प्रयोग हुने मेमोरीकार्डबाट गीत, तस्बिरलगायत डाटा कम्प्युटरमा सार्न सस्तोमा पाइने कार्ड रिडरले समेत सघाएको व्यवसायी बताउँछन् । 'सय रुपैयाँमा कार्ड रिडर पाइन्छ,' एक बिक्रेताले भने त्यसले गर्दा कसरी मेमोरी कार्डमा गीत, भिडियो राख्ने भन्ने चिन्ता हुँदैन ।'

धेरै प्रयोग हुने स्टोरेज डिभाइस कम्प्युटरमै जोडिने हार्डडिस्क हो । सुरुमा प्यारालल एड्भान्स टेक्नोलोजी एट्याचमेन्ट -पाटा) डिस्क चल्तीमा थिए । तिनको ठाउँ अहिले आधुनिक प्रविधिको सिरिएल एडभान्स टेक्नोलोजी एट्याचमेन्ट -साटा) हार्डडिस्कले लिएका छन् । पाटामा ४० कन्डक्टर रिवन केबल प्रयोग हुन्छ । तिनको डाटा ट्रान्सफर गति साटाको भन्दा सुस्त हुने क्यानका सदस्य पवन शर्मा बताउँछन् । साटा डिस्क २००३ पछि आएका हुन् । तिनको गति तुलनात्मक रूपमा बढी हुने र विद्युत् कम खपत गर्ने उनले जानकारी दिए ।

बजारमा दुवै प्रकारका हार्डडिस्क पाइन्छन् । पछिल्लो समय पाटा हार्ड डिस्क उत्पादन हुन छाडेका छन् । धेरै हार्डडिस्क बनाउने थाइल्यान्डमा गत वर्ष बाढीले ठूलो क्षति पुर्याएपछि बजारमा त्यसको असर परेको छ । त्यसपछि बजारबाट बिग्रेर फर्काइएका पाटा हार्डडिस्क मर्मत गरेर पुनः बिक्रीमा ल्याइएको मोनालिसाका प्रबन्धक केसीले बताए । 'त्यतिखेर ५ सय जीबीको हार्डडिस्क ३ हजार रुपैयाँको हाराहारीमा पाइन्थ्यो,' उनले भने, 'बाढीको असरपछि आएका हार्डडिस्कको मूल्य ६ हजार रुपैयाँ हाराहारीमा छ । विस्थापित भइसकेको पाटाको मूल्यसमेत त्यही छ ।' विकसित प्रविधिको मूल्य घटिरहेका बेला हार्डडिस्कको मोलमा भने उल्टो असर गरेको उनले बताए ।

बजारमा बोकेर हिँड्न मिल्ने एक्स्टर्नल हार्ड डिस्क सानो आकारमा उपलब्ध छन् । डब्लूबी, वेस्टर्न डिजिटल, सामसङ, हिटाचीलगायत ब्रान्डका हार्डडिस्क पासवर्ड राख्न मिल्ने/नमिल्ने दुवै प्रकारका पाइन्छन् । मोनालिसाका केसीका अनुसार बजारमा धेरै ५ सय जीबी र १ टेराबाइटका हार्डडिस्क चल्तीमा छन् । पासवर्ड राख्न मिल्ने ५ सय जीबीको ७ हजार र १ टीबीको ८ हजार ५ सय रुपैयाँ पर्छ । पासवर्ड राख्न नमिल्ने हार्डडिस्क ५ सय रुपैयाँ सस्तोमा पाइन्छ ।

बजारमा आएको पछिल्लो ड्राइभ एसएसडी निकै सानो र उच्च गतिमा चल्छ । 'यस्ता डिस्क छिटो चल्ने, ब्याट्री कम खपत गर्ने र निकै सानो साइजमा हुने भएकाले अल्ट्राथिन ल्यापटपहरूमा यसको प्रयोग हुँदै आएको छ,' शर्माले भने, 'यसको मूल्य सामान्य हार्डडिस्कको तुलनामा १० गुणा महँगो छ ।' यसैले गर्दा अन्य ल्यापटपको तुलनामा अल्ट्राबुकको मूल्य २० हजार रुपैयाँभन्दा बढी महँगो भएको उनले बताए । यसबाहेक धेरै डाटा राख्नुपर्ने बैंकहरू, टेलिकम कम्पनी, कर्पोरेट हाउसहरूमा एनएएस, टेप ड्राइभलगायत डिभाइसमा डाटा स्टोर गरिन्छ । सूचना प्रविधिको विस्तारले यस्ता सामग्रीको बजार निकै बढेको व्यवसायीहरू बताउँछन् ।

No comments:

Post a Comment