Sunday, 16 December 2012
न्याय नपाएपछि सेवा केन्द्रमै आत्महत्या
जुम्ला, पुस १ - ३५ बर्षीया बुना रोकायाले खलंगास्थित महिला सेवा केन्द्रमै आत्महत्या गरेकी छन् । जुम्ला वड्की २ देयार गाउँकी रोकाया आइतबार केन्द्रको अल्पकालिन आश्रयस्थलको कोठामा पासो लगाएर झुण्डिएको अवस्थामा फेला परेकी हुन् ।
उनको शव अहिलेसम्म पनि कोठाबाट निकालिएको छैन । जिम्मा लिन उनको परिवारबाट कोही आएका छैनन् भने अन्य सरोकारवाला पनि चासो देखाएका छैनन् ।
सासु र श्रीमानले कुटेको भन्दै महिला विकास कार्यालय जुम्लाको सिफारीशमा उनी कात्तिक २६ गते सेवा केन्दमा आश्रय लिन आएकी थिइन् । केन्द्रले भोलिपल्टै पीडित महिलाका आफन्तलाई बोलाइदिन जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएपनि अहिलेसम्म आफन्त आएका थिएनन् ।
उनलाई आश्रय स्थल पठाएपछि महिला तथा वालवालिका कार्यालयले चासो नदिएको कान्जिरुवा महिला वचत तथा ऋण सहकारी संस्था अध्यक्ष भगवती श्रेष्ठले बताइन् ।
तीन कोठा भाडामा लिएर खोलिएको सेवा केन्द्रकी घरबेटीले सरोकारवालाहरुलाई शव निकालेर कोठा खाली गर्न अनुरोध गरेकी छन् । सेवा केन्द्र समन्वय समिति र निर्देशन समितिको वैठकको अध्यक्षता प्रमुख जिल्ला अधिकारी वा स्थानीय विकास अधिकारीले गर्ने भन्ने विषयमा टुङ्गो नलागेपछि बैठक बस्न सकेको छैन । जसका कारण सेवा केन्द्रले रोकायालाई कसको जिम्मा लगाएर घर पठाउने भन्ने निर्णय गरेको थिएन ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment