Monday, 17 December 2012

प्रधानमन्त्रीले 'राजीनामा दिन्न' भनेपछि सहमति तुहियो


काठमाडौ, पुस २ - प्रधानमन्त्री बाबुराम भट्टराईले 'तत्काल राजीनामा नदिने' अडान दोहोर्याएपछि सोमबार हुने भनिएको सहमति तुहिएको छ ।

प्रधानमन्त्री संविधान संशोधन गरी पुनः हुने संविधानसभा चुनावको मिति घोषणापछिमात्र राजीनामा दिने अडान लिएपछि सहमति अन्तिम समयमा भाँडिएको हो । प्रधानमन्त्रीले अडान नछाडेपछि विपक्षी दलले मनाउने जिम्मा एमाले बरिष्ठ नेता माधवकुमार नेपाललाई दिएका छन् ।

प्रधानमन्त्रीका एक सहयोगी विश्वदीप पाण्डेले भने वर्तमान सरकारलाई केही समयसम्म निरन्तरता दिने 'एमाओवादीकै प्रस्ताव' भएको दाबी गरेका छन् ।

'शान्ति प्रक्रियाकाको टुंगो लगाउने, आयोगहरु गठन गर्ने, निर्वाचन सम्बन्धि संविधान संशोधनमा सहमति, वैशाखमा चुनाव गर्ने गरी मितिसहितको सहमति पश्चात केही समयका लागि यही सरकारलाई राष्ट्रिय सरकार बनाउने, त्यसपछि सरकार कांग्रेसलाई दिने' प्रधानमन्त्रीको अडान रहेको प्रष्ट्याएका छन् ।

पाण्डेले उक्त विषयमा सहमति नभए मधेसी मोर्चा वा साना दलको नेतृत्वमा सहमतिको सरकार बनाउने एमाओवादी र प्रधानमन्त्रीको प्रस्ताव रहेको उल्लेख गरेका छन् ।

प्रधानमन्त्री भट्टराईको सम्मानजनक बहिर्गमन हुनेगरी एमाओवादी सहमति नजिक पुगेको बताइरहँदा प्रधानमन्त्रीको अडानले प्याकेजको सहमति पछि धकेलिएको छ । भट्टराई सरकारमा नजाने विपक्षी कांग्रेस-एमालेको अडान र प्रधानमन्त्रीको पछिल्लो धारणाले राष्ट्रपतिले दिएको चौथोपटकको म्याद व्यर्थ भएको छ ।

एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले सोमबार साँझसम्म दलहरुबीच सहमति हुने आश्वासन दिएका कारण शीतल निवासले पछिल्लो तयारी गरेको छैन । यद्यपी राष्ट्रपतिसँग पुनः म्याद थप्नुको विकल्प छैन ।

सोमबार साँझसम्म सहमति जुटाउन एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, एमाले बरिष्ठ नेता माधवकुमार नेपाल र कांग्रेस महामन्त्री कृष्णप्रसाद सिटौलाले निक्कै गृहकार्य गरेका थिए ।

No comments:

Post a Comment