Sunday, 16 December 2012
'धोका हुँदैन भने एमाओवादीको सर्त मान्नुपर्छ'
काठमाडौं, पुस १ - कांग्रेस बरिष्ठ नेता शेरबहादुर देउवाले धोका नहुने हो भने एमाओवादीले अघि सारेको सर्त मान्दा पनि फरक नपर्ने बताएका छन् ।
'कांग्रेसलाई धोका हुँदैन भने एमाओवादीको सर्त मान्दा पनि हुन्छ,' बुढानिलकण्ठस्थित निजी निवासमा आइतबार रिपोर्टर्स क्लवको ज्ञापन पत्र बुझ्दै देउवाले भने, 'केही फरक पर्दैन । सधैँ अविश्वास गरेर मात्रै पनि हुँदैन ।'
एमाओवादी नेतृत्वको सरकारले नै निर्वाचनको मिति घोषणा गर्ने र संविधानका बाधा अड्काउ फुकाएर कांग्रेसको नेतृत्वमा सहमतिको सरकार निर्माण गर्ने भनि पछिल्लो समयमा अगाडि सारेको सर्तको विषयमा सञ्चारकर्मीले राखेको जिज्ञासामा देउवाले त्यस्तो धारणा राखेका हुन ।
देउवाले एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रपतिले दिएको समयभित्रै सहमति बन्छ भनेको कुरामा समेत आशंका र अविश्वास गर्न नहुने बताए । 'सहमति गर्ने हो भने शंका मात्रै गरेर हुँदैन,' उनले भने ।
संविधानका सबै अन्तर्वस्तुमा अहिले सहमति बन्ने भए फेरि पनि संविधान सभा पुनःस्थापना गरेर संविधान जारी गर्न सकिने उल्लेख गर्दै उनले तर अब अन्तर्वस्तुमा सहमति हुने भन्ने कुरा असम्भव रहेकोले निर्वाचनमा जानुको विकल्प नरहेको बताए ।
'संविधानको आधारभूत सिद्धान्त, संघीयता र गणतन्त्रलाई स्विकारेर निर्वाचनमा जानु पर्छ । संघीयता सबैले स्विकार गरिसकेकै छन्,' उनले भने, 'गणतन्त्र त कांग्रेस नेतृत्वको सरकारले नै प्रस्ताव गरेको हो ।'
देउवाले एमाओवादीले भने जस्तो शासकीय स्वरुप माने संविधानसभाको पुनःस्थापना नै गर्नु पर्ने भन्दै देउवाले अहिले शासकीय स्वरुपमा सहमति हुनै नसक्ने स्पष्ट पारे ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment