Tuesday, 18 December 2012
साउदीबाट आएकी महिला विमानस्थलमै लुटिइन्
काठमाडौ, पुस ३ - भोजपुरको भित्री गाउँमा घर भएकी २० बर्षीया एक युवती तीन बर्षसम्म साउदी अरेबियाको रियादमा घरेलु धन्दा भ्याएर गत मंसीर ६ गते बेलुका काठमाडौं उत्रिन् ।
उत्रनासाथ अध्यागमनका अधिकारीले उनलाई दह्रै केरकार गरे । पर्वतकी अर्कै युवतीको नाममा रहेको पासपोर्टमा एजेन्टले दिल्ली हुँदै भोजपुरे युवतीलाई साउदी उडाएको रहेछ । यो केरकारसँगै यी युवती असाक्षर रहेको र तिनबाट दह्रै फाइदा उठाउन सकिने भेउ पाएर अध्यागमनका कर्मचारीले नजिकै उभिएका प्रहरीसँग मिलेमतो गरिहाले । ती युवतीको किर्ते पासपोर्ट, हवाइ टिकट र अन्य कागजात खोसियो । धरौटीबापत तत्काल २० हजार रुपैंयाँको रसिद काटियो । र, उनका साथमा भएको झण्डै ९ हजार रियाल -२ लाख रुपैंयाँ) समेत अध्यागमनका नायब सुव्वा र प्रहरी जवानबीच तत्कालै बाँडचुड भयो ।
यतिमैं हुर्मत लिने काम टुङ्गएिको थिएन, भोजपुर जाने गाडी चढाइदिन्छु भन्दै ती प्रहरी जवानले युवतीलाई लिएर सरासर गोंगबु बसपार्क पुगे । 'भोजपुर जान नाइट-बस नपाइने रहेछ' भन्दै नजिकै एउटा लजमा लगेर राखिदिए । र, मध्यरातमा त्यही लजमा 'आफन्त भेट्न आएको भन्दै' प्रहरी जवानले उही युवतीसँग यौन सम्पर्क पनि राख्न भ्याए । यति कामकुरा फत्ते गरेर मात्रै उनले मंसीर ७ गते बिहानको टिकट काटिदिएर युवतीलाई भोजपुर पठाए ।
'तीन साता पुरानो कुरा अब सेलायो होला' भनेर काठमाडौं अध्यागमनका प्रहरी जवान र कर्मचारी ढुक्क रहेकै बेला फेरि यो मामला बल्भिmयो । ती युवतीले गाउँमा पुगेर आफू आर्थिक र शारीरिक रुपमा लुटिएको मर्म आफ्ना मगर थरका एक मितभाइलाई सुनाएपछि उनीहरु दुबैजना यो बेदना सुनाउन काठमाडौं आएका हुन् । उनीहरु अधिवक्ता द्वय वसन्त बस्नेत र राधाकृष्ण भट्टराईको सहयोगमा वैदेशिक रोजगार विभागका महानिर्देशक पूर्णचन्द्र भट्राईलाई यो 'असुरक्षित र अमर्यादित' प्रकरण सुनाउन आइतबार बिभागमा पुगेका थिए । यो जानकारीले पुष्टी पाउनासाथै यो प्रकरणमा जोडिएका प्रहरी जवान परशुराम बस्नेतलाई पक्राउ गरेर हनुमानढोकामा राखिएको छ भने मिलेमतोमा संलग्न अध्यागमनका नायब सुव्बा सोमनाथ खनाल सोमबारदेखि फरार छन् ।
विभाग हुँदै गृह मन्त्रालयमा यो मुद्दा सिफारिश भएपछि गृह सचिव नवीन घिमिरे, महानगरीय प्रहरी आयुक्त (अतिरिक्त महानिरिक्षक) नवराज ढकाल, गृह सहसचिव भोला शिवाकोटीसहितको बैठकले तत्कालै कारबाही प्रकृया सुरु गरेको छ । 'प्रहरी जवान बस्नेतले आफ्नो बयानमा युवतीबाट लिइएको पैसा 'माथिसम्मै' बाँडचुड गरिएको र सहमतिमैं ती युवतीसँग शारीरिक सम्पर्क राखिएको बयान दिएका छन्,'हनुमानढोकाका एक अनुसन्धान अधिकृतले खुलाए । अब प्रहरी जवान र अध्यागमनका नायब सुब्बालाई कुन तहको कारबाही हुने हो र, पीडित युवतीले राज्यका तहबाट कस्तो न्याय पाउनेछिन् भन्ने बिषय पनि अन्यौलमा छ । 'हामी सुरक्षित र व्यवस्थित आप्रवासनको बिषयलाई नियम-कानुनमैं सम्बोधन हुने गरी कार्यान्वयनको तहमा ल्याउन लागीपरेका छौं,'यो मामला अनुसन्धानमा जुटेका श्रम मन्त्रालयका एक अधिकारी भन्छन्-'तर राज्यकै तहबाट यस्तो मनपर्दी र असुरक्षित व्यवहार भइरहेको छ भनेर अनुसन्धानमा जुट्नुपर्दा पनि लाज लाग्नुपर्ने स्थिती छ ।' संयोगले आज डिसेम्बर १८ मा विश्व आप्रवासन दिवस समेत परेको छ ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment