Sunday, 16 December 2012
दिनांक २९ को कुर्सीपत्र
काठमाडौ, मंसिर ३० - मान्यवर राष्ट्रपतिजी,
दण्डवत प्रणाम ।
आशा छ, पद, प्रतिष्ठा तथा पराक्रमसहित शीतल निवासको प्रांगणमा सानन्द हुनुहुन्छ ।
आगे यो पत्र प्रेषकको परिचय लिनोस् । परन्तु यसको पनि के आवश्यकता छ र ? हजुर मसँग पूर्णतः परिचित हुनुहुन्छ । यसको पुष्ट प्रमाणको रूपमा राष्ट्रपति कार्यालयको यावत हलचललाई लिन सकिन्छ । हेर्नोस्, शीतल निवासको समसामयिक गतिविधि मैसँग सम्बन्धित छ नि ! अब त महामहिमले मलाई राम्ररी चिन्नुभयो होला । हो, म यो मुलुकको प्रधानमन्त्रीको कुर्सी हुँ । अहिलेको बहुचर्चित कुर्सी । फगत एक काठको कुर्सी ।
तहाँबाट ममा अतिरिक्त चासो प्रदर्शन गरेर म्यादमाथि म्याद थपिँदो छ । अर्थात् यो कुर्सीमा आरामले बस्ने एक अदत प्रधानमन्त्रीको खोजमा हजुर आफ्ना घाघडान सल्लाहकारहरूसाथ धुइँपत्ताल लागिपर्नु भएको छ । के अब वर्तमान कामचलाउ हैसियतको प्रधानमन्त्रीबाट काम चल्न पनि छाडेको हो ? पहिले सात दिनको म्याद दिनुभयो, त्यसपछि अर्को एक सप्ताह थपियो । अनि फेरि सप्ताहमा एकदिन कम गरेर अर्थात् छ दिन वृद्धि गर्नुभयो । यति पनि अपर्याप्त भएकोले पाँच दिन अरु प्रदान गरिएको छ । यसरी कति दिन, सप्ताह र महिना रब्बरझैं तन्किँदै जाने हो । यसै भन्न सक्ने अवस्था छैन । सरकारी अदालतबाट कुनै नामुद झगडियाले उदारतापूर्वक पाए सरह म्याद थपान मलाई पटक्कै मनपरेको छैन । के म शीतल निवासदेखि सिंहदरबार हुँदै बालुवाटारसम्म लमतन्न फैलिएको द्वन्द्वको वीजतत्त्व हुँ ? वास्तवमा यो कुरासँग मेरो कुनै पनि खालको लेनादेना छैन । म त ममा साधिकार आसिन हुन योग्य एक प्रधानमन्त्रीको अधैर्यतापूर्वक प्रतीक्षा गरिरहेको छु ।
प्रधानमन्त्रीको योग्यताको मेरो आफ्नै खाले सुस्पष्ट परिभाषा रहेको छ । यसको हजुरको सोचको बनोटसँग ठ्याक्कै मिलान हुन्छ या हुँदैन, मलाई थाहा छैन । म त केवल आफ्नो भनाइ दृढताका साथ अघि राख्न चाहन्छु ।
यो कुर्सीलाई एउटा निर्जीव पदार्थमात्र नठानियोस् । यो महान भूल हुनेछ । ममा पनि एक प्रकारको चेतन सत्वर गतिले प्रवाहमान भइरहेको छ । तसर्थ जे पनि दुई आँखाका पुतलीले टुलुटुलु हेरेर म किन बसुँ ? मलाई क्षमा गर्नोस् । स्वयंसँग गाँसिएको विषय भएकोले मैले आफ्नो विवेकको समुचित प्रयोग गर्नैपर्छ । र यही सिलसिलामा यो पत्र लेखन भएको हो । अब मैले चुपचाप बस्नुहुन्न । वस्तुतः महामहिम राष्ट्रपतिको मागसँग म विलकुलै सहमत छैन । हजुरको एकल नारा रहेको छ- यहाँ सहमतिको प्रधानमन्त्री होस् । यस सम्बन्धमा यो कुर्सीको चिन्तन भने पृथक रहेको छ । मलाई त असहमतिको प्रधानमन्त्री चाहिएको छ । शतप्रतिशत असहमतिको प्रधानमन्त्री । ममा सहैसियत राज गर्ने असहमतिको प्रधानमन्त्री कस्तो हुनुपर्नेछ, त्यसको बुँदागत अवधारणा यस किसिमको रहेको छ ।
१. सर्वतोमुखी अनैतिकताबाट असहमत ।
२. खास गरेर छिमेकी हस्तक्षेपबाट असहमत ।
३. अहिले व्याप्त राजनीतिक पाखण्डबाट असहमत ।
४. सत्ताभित्र र बाहिर रहेका परिवर्तन विरोधीबाट असहमत ।
५. मुलुकसँग हाकाहाकी धोकाबाजी गरिरहेको राष्ट्रघाती चरित्रबाट असहमत ।
६. सिद्धान्तको नाममा भइरहेको सिद्धान्तहीनताबाट असहमत ।
७. भित्रैसम्म जरा गाडिएको भयावह भ्रष्टाचारसँग असहमत ।
८. अघि बढ्छु भनेर पछाडि र्फकने पश्चगामिताबाट असहमत ।
यो प्रधानमन्त्रीको कुर्सीको महामहिम राष्ट्रपतिसँग विनम्र अनुरोध के छ भने आइन्दा म्याद थप गर्दा उपयुक्त कुराहरूका अनिवार्य पालना हुनुपर्ने ठोस सर्त राखियोस् । हजुरले पटकैपिच्छे उच्चारण गरेजस्तो सहमतिको प्रधानमन्त्रीको अब कुनै प्रयोजन छैन । यसको विकल्पमा असहमतिको प्रधानमन्त्री हुनु नै सबैका लागि बढिया हुनेछ । मेरो सम्पूर्ण हित पनि यसैमा निहित छ । कृपया यो कुर्सीको यति सानो कुराको महामहिमबाट ख्याल गरिबक्स्योस् भन्ने मेरो इच्छा रहेको छ । कुन्नि यो बक्सिसको लवज यहाँ कसरी आयो ? म अहिलेसम्म पनि पुरानो आचार-विचारबाट मुक्त हुन नसकेकोमा लज्जित छु । अतः आफ्नो सामन्ती भाषालाई तत्काल फिर्ता लिन्छु । मेरो भन्नुको आशय यति हो- अब मेरो प्रत्यक्ष सम्पर्कमा आउने प्रधानमन्त्री विशुद्ध असहमतिको प्रधानमन्त्री नै होस् । यही यो प्रधानमन्त्रीको चारखुट्टे काठको कुर्सीको एकमात्र चाहना हो ।
आगे महामहिमको विचार !
यो कुर्सीपत्र मान्यवर राष्ट्रपतिजी समक्ष पुग्छ या पुग्दैन, यो थाहा पाउने मसँग कुनै उपाय छैन । यसै पनि यो चिठीपत्रको जमाना होइन । परन्तु मेरो अप्ठ्यारो के हो भने मलाई अत्याधुनिक प्रविधिको कुनै ज्ञान छैन । यो प्रधानमन्त्रीको कुर्सीलाई सजिलै सन्देश पठाउने माध्यम इमेल-सिमेल गर्न आउँदैन । म त मोबायल फोनबाट एसएमएस गर्नसम्म पनि असक्षम छु । अतएवं के गर्न सकिन्छ ?
हजुरको सल्लाहकार, सहयोगी र सेवकहरूलाई पनि यो प्रधानमन्त्रीको कुर्सीको सुमधुर सम्झना सुनाइदिनहुन हार्दिक अनुरोध छ ।
धन्यवाद !
म हुँ हजुरको कृपाकांक्षी, प्रधानमन्त्रीको कुर्सी बालुवाटार, काठमाडौं पुनश्चःहजुरले तोक्नुभएको अन्तिम समयावधिमै फिर्तीपत्र प्राप्त भए मलाई अतिव खुसी हुनेछ । अरु पछि ।
- प्रमको कुर्सी
''मेरो प्रत्यक्ष सम्पर्कमा आउने प्रधानमन्त्री विशुद्ध असहमतिको प्रधानमन्त्री नै होस् । यही यो प्रधानमन्त्रीको चारखुट्टे काठको कुर्सीको एक मात्र चाहना हो ।''
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment