Saturday, 15 December 2012
कक्षा १ मा शतप्रतिशत भर्ना गर्ने
काठमाडौं, पुस १ - शिक्षामन्त्री दीनानाथ शर्माले तीन वर्षभित्र पाँच वर्ष उमेर समूहका शतप्रतिशत बालबालिकालाई विद्यालय भर्ना गरिने बताएका छन् । सन् २०१५ सम्म सबैका लागि शिक्षा अभियानअनुसार यो लक्ष्य नजिक पुगेको दाबी उनले गरे ।
शिक्षामन्त्री शर्माले प्रारम्भिक बालविकास कार्यक्रमलाई पनि शिक्षाको मूल प्रवाहमा ल्याउन शिक्षा ऐनमा संशोधन गर्न लागिएको जानकारी दिए । ऐन संशोधन भएपछि प्रारम्भिक बालविकासको दायित्व राज्यको हुने प्रस्ताव ऐनमा गरिएको छ । शिक्षा विभाग र सेतो गुराँस राष्ट्रिय बालविकास सेवाले गरेको प्रारम्भिक बालविकास दोस्रो राष्ट्रिय महोत्सवमा उनले उक्त विचार राखेका हुन् ।
तीनदेखि पाँच वर्ष उमेर समूहका बालबालिकाको बौद्धिक विकासका लागि विद्यालयमा भर्ना गर्नुअघि बाल केन्द्रमा खेलका माध्यमबाट सिकाइन्छ । तथ्याङ्कअनुसार यो उमेर समूहका ७३ प्रतिशत बालबालिका त्यस्ता केन्द्रमा भर्ना भएका छन् । त्यसैगरी कक्षा १ मा भर्ना हुन आउने ५५ प्रतिशत बालबालिकाले मात्रै त्यस्ता केन्द्रको अनुभव लिएका छन् ।
अन्तर मन्त्रालय समन्वय हुन नसक्दा प्रारम्भिक बालविकास केन्द्रहरू व्यवस्थित हुन नसकेको जानकारहरूको भनाइ छ । त्यसनिम्ति शिक्षा मन्त्रालयले स्थानीय विकास, महिला, बालबालिका तथा समाज कल्याण र स्वास्थ्य मन्त्रालयसित सहकार्य हुनुपर्नेमा जोड दिइएको छ । समन्वयको अभावमा बालविकास केन्द्रमा कार्यरत सहयोगी कार्यकर्ताले मासिक पारिश्रमिक दुई हजार चार सय रुपैयाँमात्र पारिश्रमिक पाउने गरेका छन् ।
शिक्षा विभागका महानिर्देशक लवदेव अवस्थीले बालबालिकालाई विद्यालयमा भर्ना गराउनुअघि बालविकास केन्द्रमा पठाउनुपर्ने सोच अभिभावकहरूमा बढ्न थालेको बताए । देशभरि ३४ हजार १ सय ७४ बाल केन्द्र छन् । तिनमा झन्डै साढे १० लाख बालबालिकाको हेरचाह हुने गरेको छ ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment