Saturday, 15 December 2012

सुदूरपश्चिमको एक उदाहरणीय पुस्तकालय

सुदूरपश्चिमको एक उदाहरणीय पुस्तकालय

बैतडी, पुस १ - बैतडीका सिलंगा गाविस ४ मा तीन बर्षअघि स्थापना गरिएको अर्जुनदेव स्मृति सामुदायिक पुस्तकालय सुदूरपश्चिमको एक उदाहरणीय पुस्तकालय भएको छ ।

शिक्षासेवी अर्जुनदेव पन्तको स्मृतिमा स्थापना गरिएको पुस्तकालय स्थानीय सर्वसाधारण र विद्यार्थीको ज्ञानको दियो भएको छ । पुस्तकालय सुरु गर्न छोरा पदमले खाजा खर्च कटाएर किताल जोहो गरे । परिवारका सदस्य कृष्ण, अम्बा र चेतराजको पहलले पुस्तकालयले रुप ग्रहण गर्दै गएको छ ।

'पुस्तकालयमा आउनेक्रम बढेको छ,' पदमले भने, 'सकेसम्म किताव राख्न सकेका छैनौं, पुस्तक सहयोग पाए गाउँका जनता शिक्षित हुने थिए ।' यद्यपी अहिले पुस्तकालयमा करिब ६ हजार पुस्तक छन् । पत्रपत्रिका र इन्टरनेट सुविधा नभएकाले यो पुस्तकालय नै ज्ञान लिने स्थान भएको छ ।

५ हजार सदस्य भएको पुस्तकालयलाई भविष्यमा सामुदायिक अनुसन्धान केन्द्र बनाउने लक्ष्य छ । गाविसमा बिद्यालय स्थापनाको लागि समेत महत्त्वपूर्ण भूमिका निर्वाह गरेका स्वर्गीय पन्तको शिक्षाप्रेमलाई अमर बनाउन पुस्तकालय स्थापना गरिएको छोरा पदमले बताए ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्थासहित बिभिन्न दाताहरुको सहयोगमा पुस्तकालयमा करिब ६ हजार पुस्तक संग्रहित छन् । गाविसमा स्थापना गरिएको भए पनि पुस्तकालयको चर्चा सरमुकामसम्म पनि सुनिन्छ । यही पुस्तकालयकै आयोजनामा अन्य पुस्तकालयका व्यबस्थापकहरुलाई पटक पटक तालिमसमेत दिइदै आएको छ ।

आफू भारतमा अध्ययन गर्दा पुस्तक अभावमा पाएको दुःखलाई सम्झिएर पुस्तकालयमा स्थापनाको सोच बनेको छोरा पदमले सुनाए । 'पुस्तक पढ्ने बानीले मान्छेको भविष्य बदलिन सक्छ,' उनले भने, 'पुस्तकालय स्थापनापछि गाउँमा पढ्ने संस्कृतिको विकास भएको छ ।'

अर्जुनदेव स्मृति प्रतिष्ठानद्वारा सञ्चालित पुस्तकालयले गाउँका मेहनती र उत्कृष्ट बिद्यार्थी पुरस्कारको लागि अक्षय कोष स्थापनाको सोच बनाएको छ । अक्षय कोष स्थापनापछि बर्षेनी उत्कृष्ट र जेहेन्दार बिद्यार्थी सम्मानित गरिने छोरा पदमले जानकारी दिए । 'पुरस्कारले मानिसलाई पढ्न प्रेरणा दिन्छ', पदमले भने,'अक्षय कोष स्थापनाको लागि सहयोग चाहिएको छ ।'

''सञ्चालक भन्छन्- पुस्तक सहयोग पाए गाउँका जनता शिक्षित हुने थिए''

No comments:

Post a Comment