Saturday, 15 December 2012
आँखा गुमाएका दम्पतीको कथा
हेटौंडा, मंसिर ३० - गरिबीले होइन, नियतिले पनि ठगिएका छन् एक वनकरिया दम्पती । हाँडीखोला ७ मुसेधापमा बस्दै आएका लालबहादुर वनकरियाको जोडी दाहिने आँखाले देख्दैनन् । देब्रे आँखाका भरमा जीवनरथ हाँकिरहेका छन् । काम गर्ने क्रममा आँखाको ज्योति गुमाउन पुगे । ८२ वर्षीय लालबहादुरले भालुसँग जुध्ने क्रममा आँखा गुमाएका थिए । २०२८ सालतिर चुरेघाँचको जंगलमा कुरिलो र खरेटो खोज्ने क्रममा भालुले आक्रमण गरेपछि प्रतिकार गर्ने क्रममा चिथोरेर आँखा फुटेको उनी बताउँछन् । उनले भने, 'खुर्पाको भरमा भालुसँग एक घन्टाभन्दा बढी जुधियो, टाउकामा खुर्पा प्रहार गरेर भालुलाई घाइते बनाएपछि फुत्केर भागेँ ।' त्यतिबेला वनकरियाको जंगलमा बास थियो । वनले नचिनेको वनकरिया र वनकरियाले नचिनेको वन थिएन ।
'जंगली जनावरसँग जम्काभेट हुन्थ्यो, केहीलाई मारेर खाइन्थ्यो,' लालबहादुरले थपे । भालुसँग जुधेर रगत चुहाउँदै छाप्रामा पुगेको सम्झे । जडीबुटीले शरीरका घाउ निको भए । 'तर आँखा देख्न छाडियो,' उनले भने । हाँडीखोला गाविसको ट्वांग्रामा छाप्रो हालेर बस्न थालेपछि आँखाको उपचार गर्न वीरगन्जसम्म पुगेका थिए । उपचार हुन सकेन । दाहिने आँखाले देख्न छाडेको ४१ वर्ष भइसक्यो । दाहिने आँखा गुमेको २ वर्षपछि गाउँकी एक चेपाङ महिलासँग उनले तेस्रो विवाह गरे । उनले प्याङ्ची चेपाङलाई भगाएर विवाह गरेका हुन् । २ पत्नीले छाडेर गाउँका पुरुषसँग विवाह गरे । तेस्रो पत्नीको पनि बिहे गरेको १० वर्षपछि दाहिने आँखा गुमेको लालबहादुर बताउँछन् । हाँडीखोला गाविसको ट्वांग्रा बगरमा लगाएको मकै गोड्ने क्रममा बगरको ढुंगा उछिट्टएिर आँखामा लागेर उनको ज्योति गुमेको थियो । आँखामा ढुंगा लाग्नेबित्तिकै उपचारका निम्ति अस्पताल जानुको सट्टा धामीझाँक्री लगाएर ढ्यांग्रो ठोक्ने काम गरेको ७५ वषर्ीया प्याङ्चीले बताइन् ।
त्यतिबेला लालबहादुर जंगली कन्दमुल खोज्न चरे जंगलमा गएका थिए । दम्पती दाहिने आँखा नभए पनि जिल्ला वनले उपलब्ध गराएको जमिनमा खेतीपाती गर्छन् । गाउँमा पानीघट्ट चलाएका छन् । 'दाहिने मात्र होइन, देब्रेले पनि ठम्याउन मुस्किल परिसक्यो,' दम्पतीले भने, 'पहिला भालु र ढुंगाले आँखा फुटायो, अब भगवान्ले बन्द गरिदिने भए ।' पक्की घरमा बस्ने रहर बोकेका लालबहादुर दम्पती सरकारले कहिले घर बनाइदेला भनेर प्रतीक्षारत छन् । जनता आवास कार्यक्रमअन्तर्गत सरकारले वनकरियालाई घर बनाइदिने घोषणा गरेको छ । उनीहरूका नाममा जग्गा नभएकाले बनाउने कार्यमा ढिलाइ भइरहेको छ । पानीघट्टबाट आम्दानी र सरकारले सामाजिक भत्ताका रूपमा दिने प्रतिव्यक्ति मासिक १ हजारले हातमुख जोर्न सहज भएको छ । हाँडीखोला ७ मुसेधापमा वनकरियाका १५ घरधुरी छन् ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment