Saturday, 15 December 2012
सहमति बन्न समय लाग्ने: प्रधानमन्त्री
15.12.12 NST
राष्ट्रपतिले दलहरुलाई सहमतीय सरकार बनाउन दिएको चौथो समयसीमा भित्र सहमति जुट्ने भरपर्दो संकेत दिन दलहरु विफल देखिएका छन्।
शनिबार बिदाको दिन भएपनि बिहान सबेरै राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता भयो।
त्यस्तै तीन प्रमुख दलहरु एकीकृत माओवादी, नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेताहरुबीच पनि छुट्टाछुट्टै भेटवार्ताहरु भएका थिए।
शनिबार बिहान कांग्रेस सभापति सुशील कोइरालासँग भेटवार्ता गरेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले साँझ बसेको माओवादीको पदाधिकारी बैठकमा दलहरुबीच भइरहेका अनौपचारिक कुराकानीको विवरण पेश गरेको माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले बताए।
उल्झन
तर बैठकपछि श्रेष्ठले दोहोर्याएको भनाइले राजनीतिक उलझन कायमै रहेको प्रष्ट हुन्छ।
उनले भने, "बैशाखमा संविधानसभाको चुनाव हुने वातावरण बन्नुपर्छ र अघिल्लो संविधानसभाका उपलब्धिप्रति प्रतिबद्धता जाहेर गरिए मात्र सरकार छोड्छौं।"
सहमतिको सरकारको नेतृत्व गर्न पार्टी सभापति सुशील कोइरालालाई अघि सारेपनि नेपाली कांग्रेसका नेताहरुले माओवादीको अड्डीका कारण सहमति हुने संभावना क्षीण रहेको बताउन थालेका छन्।
राष्ट्रपतिले दिएको चौथो समयसीमा सोमबार सकिँदैछ।
संकेत
यसैबीच प्रधानमन्त्री बाबुराम भट्टराईले शनिबार राजधानीमा आयोजित एउटा सार्वजनिक समारोहमा थपिएको समयमा सहमति हुने संभावना टरिसकेको संकेत दिए।
उनले भने, "अब बल्ल नेताहरु सहमतितर्फ आउँदैछन्, अब केही दिनभित्र, केहि हप्ताभित्र सहमति हुनसक्छ।"
काठमाडौंस्थित बीबीसीकी एकजना संवाददाता भन्छिन्, आपसी सहमति खोज्न हुँदै आएका औपचारिक भेटवार्ताहरुले परिणाम दिन नसकेपछि अनौपचारिक भेटवार्ताबाट सहमति खोज्न हौसिएका दलहरुको प्रयास पनि कमजोर बन्दै गएको देखिन्छ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment