'
काठमाडौं, मंसिर ३० - पूर्व गृहमन्त्री एवं एमाले केन्द्रीय सदस्य भीम रावलले त्रिभूवन विमानस्थल तथा अध्यागमन कार्यालयको 'सुदृढिकरण र विस्तार' योजना आफ्नो कार्यकालमा सुरु नभएको दाबी गरेका छन् ।
माधवकुमार नेपाल नेतृत्वको सरकारका गृहमन्त्री रावलले आफूले भारतसँग कुनै गोप्य सम्झौता नगरेको बताएका छन् । 'एयर मार्सल' राख्ने विषयमा भारतले राखेको प्रस्ताव आफूले अस्वीकार गरेको उनले शनिबार विज्ञप्तीमार्फत जनाएका छन् ।
'भारतीय पक्षले (भारत भ्रमणकाबेला) त्रिभूवन विमानस्थल असुरक्षित रहेकाले एयर मार्सल राख्नुपर्ने कुरा उठाएको थियो, त्यस सन्दर्भमा मैले भारतीय पक्षलाई नेपालको विमानस्थल तपाईंहरुले भनेजस्तो असुरक्षित छैन र हामीहरु बदलिदो परिवेशअनसार त्यसलाई सुरक्षित तुल्याउन कदम चाल्छौं, त्यसका लागि आवश्यक उपकरण र प्रविधि तपाईंहरुजस्तो मित्र देशले सहयोग गर्नुहोस् भनेको थिएँ,' विज्ञप्तीमा लेखिएको छ, 'नेपालका अन्य अध्यागमन कार्यालयहरुको प्रसंग उठेको नै थिएन ।'
नयाँदिल्ली छलफलको विषयमा भारतीय टोली काठमाडौं आएको र गृहमन्त्रालयका कर्मचारीसहित संयुक्त अध्ययन-मुल्यांकन भएको विज्ञप्तीमा उल्लेख छ । 'तर त्रिभूवन विमानस्थल र अन्य सवै अध्यागमन कार्यालयहरु भारतलाई जिम्मा दिने वा त्यसको व्यवस्थापन भारतलाई दिने कुरा मैले गरेको छैन,' रावलले भनेका छन्, 'यस्तो गर्नुहुन्न भन्ने मेरो दृढ विचार छ ।'
रावलले यस विषयमा सवै कागजपत्र हेर्न दिन र छलफल गर्न परराष्ट्रमन्त्रीलाई आग्रह गरेको बताएका छन् । उनले कामचलाउ सरकारले अरुलाई देखाएर स्वेच्छदारी निर्णय गर्ने गरेको बताउँदै राष्ट्रिय सुरक्षाका विषयमा राजनीतिक सहमति गर्न माग गरेका छन् ।
विमानस्थल आधुनिकीकरण र सुरक्षित राख्न प्रविधि भित्र्याउनु 'त्रुटि' नहुने भन्दै पूर्वगृहमन्त्री रावलले सरकारले यसमा 'बाँदरलाई लिस्नु' जस्तो भएको टिप्पणी गरेका छन् ।
No comments:
Post a Comment