Monday, 29 July 2013

'बर्ड फ्लुबाट जोगिऔं'



image

काठमाडौ, श्रावण १४ - धेरै ठाउँमा बर्डफ्लु देखिएको र संक्रमित कुखुरासमेत बजारमा पुगेको खबर आएको भन्दै चिकित्सकले जोगिन सुझाव दिएका छन् । बर्डफ्लुको भाइरस मानिसमा नगन्य रूपमा देखापरे पनि संक्रमित पन्छीसँग असावधानीवश र जथाभावी सम्पर्कमा आउनेमा रोग सर्ने सम्भावना हुन्छ । शंका लागेमा नजिकको स्वास्थ्य केन्द्रमा जान पनि उनीहरूले आग्रह गरेका छन् ।

संक्रमणपछि मानिसमा ज्वरो आउने, घाँटी दुख्ने, मांसपेशी दुख्ने, खोकी लाग्ने र केहीमा फोक्सोमा गम्भीर असरसहित निमोनिया भई  घातकसमेत हुन सक्ने इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. जीडी ठाकुरले बताए । 'गम्भीर प्रकृतिको बर्डफ्लुले मृत्युसमेत हुन सक्छ,' उनले भने ।

विश्व स्वास्थ्य संगठन -डब्लूएचओ) का अनुसार बर्डफ्लुबाट ३ सय ७४ जनाको मृत्यु भइसकेको छ । यो संख्या प्रयोगशाला प्रमाणितको मात्र हो । सन् २०१३ मा बंगलादेश र भियतनाममा एक/एक, कम्बोडियामा ८, चीन र इजिप्टमा दुई/दुई जनाको ज्यान गइसकेको छ । संक्रमण एक व्यक्तिबाट अर्कोमा सर्न गाह्रो भए पनि संक्रमणपछि मृत्यु दर करिब ६० प्रतिशत देखिएको डब्लूएचओले उल्लेख गरेको छ ।

'मानिसमा यो रोगको खास उपचार नभए पनि प्रभाव कम गर्न एन्टिभाइरल औषधि प्रयोग गर्न सकिन्छ,' नेपाल भेटेनरी एसोसिएसनका महासचिव डा. शीतलकाजी श्रेष्ठले भने । संक्रमित पन्छी जीवित वा मृत, पोल्ट्री, सुली र फार्ममा प्रयोग भएका सामग्रीको सम्पर्क मानिसमा बर्डफ्लु हुने मुख्य कारण रहेको पशु स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विजयकान्त झाले बताए ।

राजधानीमा साउनमा १२ ठाउँमा बर्डफ्लु देखिएको छ भने पोखरामा दुई पटक र धादिङमा समेत देखिएको छ ।

- See more at: http://ekantipur.com/mobile/np/article.php?news_id=372964#sthash.opcR6cu4.dpuf

No comments:

Post a Comment