चितवन, ८ साउन । नारायणी नदीमा आएको बाढीमा परी गैँडाकोटका तीनजना बेपत्ता भएका छन् । गैँडाकोटस्थित सामुदायिक वनमा घाँस, दाउरा खोज्न गएका तीनजनालाई बाढीले बगाएको इलाका प्रहरी कार्यालय गैँडाकोटले जनाएको छ । बेपत्ता हुनेहरुमा गैँडाकोट– ६ का प्रेम राई, मोहन राई र साजन राई रहेका छन् । सोमबार बिहान उनीहरु बेपत्ता भएदेखि नै नेपाल प्रहरी, सशस्त्र र स्थानीयवासीको टोलीले खोजबिन गरे पनि फेला पार्न नसकेपछि उनीहरुको आज बिहानैदेखि पुनः खोजी थालिएको छ ।
यता मेघौलीका रामु महतो पनि नारायणीको बाढीमा बेपत्ता भएका छन् । उनको पनि खोजी भइरहेको र अहिलेसम्म अवस्था पत्ता नलागेको चितवन प्रहरीले जनाएको छ । यसैबीच सोमबार नारायणी नदीमा इतिहासकै सबैभन्दा बढी पानीको सतह पुगेको छ ।
जलमापन केन्द्र देवघाटका अनुसार २०५८ सालमा ९.२४ मिटर बाढीको सतह भएकामा यसवर्ष ९.४६ मिटर पुगेर नयाँ रेकर्ड कायम भएको छ । जिल्लामा पानी नपरेकाले क्षति कम भएको चितवन प्रशासनले बताएको छ ।
सोमबारको बाढीले यहाँका २ सय बढी घर डुबानमा पारे पनि अहिले बाढी क्रमशः घटिरहेको छ ।
No comments:
Post a Comment