हालै ओमान एयरवेजले नौ जना नेपाली युवतीलाई आफ्नो एयरलाइन्समा रोजगारी दियो। नेपाल आएर अन्तर्वार्ता लिएर उसले नेपाली युवतीहरूलाई उक्त अवसर उपलब्ध गराएको हो। अन्तर्राष्ट्रिय एयरलाइन्सहरू नेपाली युवतीलाई अवसर दिन चाहन्छन् भन्ने कुरा यसले प्रस्ट पार्छ। आकर्षक ड्रेसअप, अपडेटेड फेसन प्रयोग गर्ने तथा विभिन्न मुलुक पुगेर घुम्ने र सपिङ गर्ने चाहना भएकाले एयर होस्टेजको बाटो रोजेको नयाँ बानेश्वरस्थित एयर होस्टेज टे्रेनिङ इन्स्टिच्युटमा भेटिएकी त्रिमूर्ति चौधरीले बताइन्।
'आफूमा भएको सुन्दरता एवं प्रतिभा दुवै यो पेसामा देखाउन सकिन्छ, साथसाथै ग्ल्यामरस करियर पनि' ट्रेनिङ इन्स्टिच्युटमा कक्षा सकेर निस्किरहेकी त्रिमूर्तिले भनिन्- 'आकाशमा उड्ने रहर सानैदेखि थियो, उक्त रहर पूरा गर्न मैले एयरहोस्टेज बन्ने निर्णय लिएँ।' बादलको संसारमा विचरण गर्ने चाहना राख्ने त्रिमूर्ति स्वदेश तथा विदेशी एयरलाइन्समा एयरहोस्टेजको करियर खोज्ने योजनामा छिन्। त्रिमूर्तिले भनिन्- 'मेरो चाहना र स्वभावअनुसार यो करियर उपयुक्त छ।'
५ फिट ५ इन्च अग्ली त्रिमूर्ति बोल्न पनि उत्तिकै पोख्त देखिइन्। प्लस टुमा होटल म्यानेजमेन्ट -हस्पिटालिटी कोर्स) को अध्ययन सक्नेबित्तिकै त्रिमूर्तिले एयरहोस्टेजको तालिम प्रारम्भ गरेकी हुन्। हस्पिटालिटी म्यानेजमेन्टको ज्ञानबाट एयरहोस्टेजको करियरमा आफ्नो उज्ज्वल भविष्य बनाउने उनको लक्ष्य हो। एयर होस्टेज भएर हवाई उडानका यात्रुलाई सन्तुष्ट राख्न होटल म्यानेजमेन्टको अध्ययनले थप मद्दत गर्ने उनले बताइन्। मुलुकभित्रकै आन्तरिक उडान तथा विदेशी उडान दुवै क्षेत्रका लागि एयर होस्टेज करियर राम्रो भएको विद्यार्थीहरू बताउँछन्। 'जीवनमा रिक्स त जहाँ पनि छ' उनीहरू भन्छन्- 'दुर्घटना जहिले जहाँ पनि हुनसक्छ, त्यसैले हामी डराउँदैनौं।'
सुन्दर मुहार र आकर्षक जीउडाल, स्पष्ट बोली अनि सभ्य ढंगले प्रस्तुत हुने खुबी। यी कुराले एयर होस्टेजका लागि फिट छु भन्ने संकेत दिन्छन्। मिलेको शारीरिक बनावटमा सुहाउँदो पहिरन एयर होस्टेजको पहिचान हो। ग्लोबल भिलेज विश्वको परिकल्पनामा रमाउनेहरूका लागि त पैसा लिएर सित्तैंमा घुम्न पाउनु पनि अर्को रोमाञ्चक कुरा हो। आन्तरिक उडानमा पनि मुलुकका विभिन्न आकर्षक स्थान घुम्ने मौका एयरहोस्टेजको जागिरले नै दिन्छ। बुद्ध, यति, एनएसी, सिमि्रकलगायत स्वदेशी एयरलाइन्स कम्पनी तथा अन्य दर्जनौं विदेशी एयरलाइन्सले क्षमतावान् स्मार्ट युवतीहरूका लागि एयरहोस्टेजको तालिमपछि करियर विकास गर्न अवसर प्रदान गरिरहेका छन्। स्वदेशी तथा विदेशी एयरलाइन्सले राम्रो अंग्रेजी उच्चारण गर्न सक्ने युवतीलाई प्राथमिकतामा राख्छन्।
केही नेपाली चलचित्रमा अभिनय गरेकी नायिका नम्रता झा यतिबेला ओमान एयरमा कार्यरत छिन्। एयखनै मिल्दो हुनुको कारण हो- उमेर। नेपालभित्र १८ वर्ष देखि २५ वर्ष उमेर भित्र नै यो पेसामा प्रवेश गरिसक्नुपर्छ भनें विदेशी एयरलाइन्सहरूले २० देखि ३० वर्षसम्मकालाई अवसर प्रदान गर्छन्। एयरलाइन्सहरू थपिने क्रमसँगै यो क्षेत्रमा अवसर पनि बढेको छ। एयर होस्टेज ट्रेनिङ इन्स्िटच्युटकी सञ्चालक कमलेश पाण्डे भन्छिन्- 'त्यसैले अहिलेका टिनएजर्सलाई एयरहोस्टेज मोहले छोएको छ।' इन्डियन एयरलाइन्स, जेट एयर, गल्फ एयर, ओमान एयरलाइन्स, इत्तिहाद एयरलाइन्स, इमिरेट्स एयरलाइन्स, थाइ एयरलाइन्सलगायत दर्जनौं विदेशी एयरलाइन्स कम्पनीमा नेपाली महिलाहरू कार्यरत छन्।
विमानमा यात्रा गरिरहेका यात्रुको रेखदेख एवं सेवा-सुविधा प्रदान गर्नु एयर होस्टेजको जिम्मेवारी हो। उनीहरूले विमानले उडान भर्नुअघिदेखि अवतरण गरिसकेपछिसम्म आफ्नो जिम्मेवारीलाई अत्यन्तै सभ्य एवं सहज ढंगले निर्वाह गर्नुपर्ने हुन्छ।
सुरुमा एयर होस्टेजका रूपमा नियुक्ति लिए पनि यो पेसामा रहेर वरिष्ठ एयर होस्टेज, ड्युटी चिफ एयर होस्टेज एवं चिफ एयर होस्टेजसम्मको जिम्मेवारी निर्वाह गर्न सकिन्छ। तह वृद्धिसँगै तलब वृद्धि हुन्छ। विमान परिचारिकाको तलब र अन्य लाभ एयर लाइन्सको नियमअनुसार हुने भए पनि मुख्य तलबका अतिरिक्त थुप्रै अवसर पाइन्छ। यात्रा भत्ता, वर्षमा एक वा दुई पटक आफू र आफ्नो परिवारको एक सदस्यका लागि निःशुल्क हवाई टिकट, चिकित्सा सुविधा, जीवन बिमा सुविधा आदि प्राप्त गर्न सकिन्छ। एयर होस्टेजमा प्रवेश पाउनेबित्तिकै १० हजारदेखि लाख रुपैयाँसम्म तलब पाइन्छ। ग्लोबल विङ्सका सञ्चालक किशोर बडुका अनुसार आन्तरिक उडान गर्ने एयरलाइन्समा केही कम भए पनि विदेशी एयरलाइन्समा सोचेभन्दा राम्रो तलब पाइन्छ।
'ब्युटी विथ ब्रेन' यो पेसाको मुख्य मापदण्ड हो। ग्ल्यामरस पेसा भएकाले यो पेसामा आउटलुकमा पनि उत्तिकै ख्याल गरिन्छ, शारीरिक सुन्दरता एक हदसम्म हेरिने भए पनि मुख्य कुरा फिटनेस हो, हेर्दा भद्दा शरीर भएकाहरू अक्सर एयरहोस्टेज हुँदैनन्। फिटनेस सही छ-छैन भनेर प्रत्येक वर्ष एयरहोस्टेजको मेडिकल टेस्ट हुन्छ, यदि उनीहरू फिट देखिएनन भने तुरुन्तै ग्राउन्डेड हुन्छन् र फिट भएपछि मात्र पेसामा र्फकन सक्छन्।
एयर होस्टेजका लागि अंग्रेजी भाषा अनिवार्य मानिन्छ। त्यसमा पनि विभिन्न भाषाको ज्ञान भए सुनमा सुगन्ध हुन्छ। अंग्रेजीका अतिरिक्त अन्य भाषा पनि जान्नेहरूले अझ राम्रो पारिश्रमिक र अवसर पाउँछन्। मिलनसार, सहनशील, विनम्र व्यवहार एवं हँसिलो मुहार एयर होस्टेजमा हुनुपर्ने गुण हो। एयर होस्टेज बन्न न्यूनतम ५ फिट २ इन्च अग्ली हुनुपर्छ। त्यस्तै आँखामा चस्मा वा कन्ट्याक्ट लेन्स प्रयोग नगरेको, सामान्य दृष्टि भएको हुनुपर्ने प्रावधान छ। 'बेसिक क्याबिन क्रु' सम्बन्धी प्रशिक्षण प्राप्त गरेको वा नर्सिङ हस्पिटालिटी म्यानेजमेन्टसम्बन्धी प्रशिक्षण प्राप्त गरेको हुनुपर्छ। स्वदेशी एयरलाइन्समा अनिवार्य नभए पनि विदेशी एयरलाइन्सका लागि पौडी खेल्न अनिवार्य जान्नुपर्छ।
नेपालमा एयरहोस्टेज ट्रेनिङ इन्स्िटच्युट नयाँ बानेश्वरका अतिरिक्त ग्राउन्ड एभिएसन, फलाइस्काई, फ्लाईटेक, आइफा तथा ग्लोबल विङ्ग्सले एयरहोस्टेज ट्रेनिङ उपलब्ध गराउँदै आएका छन्। एयर होस्टेज ट्रेनिङ इन्स्िटच्युट नेपालकै पहिलो एयरहोस्टेज तालिम दिने संस्था हो, हाल स्वदेशी तथा विदेशी एयरलाइन्समा कार्यरत धेरै एयरहोस्टेज यो संस्थाका उत्पादन हुन्। राजधानीबाहिर बुटवलमा पनि सहारा एयरहोस्टेज टे्रनिङ सेन्टर सञ्चालनमा छ।
एयर होस्टेजका लागि सैद्धान्तिक एवं प्रयोगात्मक कक्षा लिनुपर्छ, जसमा परिचय, सेवा, जिम्मेवारी र प्राविधिक पक्ष सिकाइन्छ। खासगरी विमानमा यात्रुलाई स्वागत गर्नेदेखि अवतरण गरेपछि बिदाइ गर्ने कला सिकाइने प्रशिक्षकहरू बताउँछन्। यसैगरी आपत्कालीन अवस्थामा जोगिने उपायका सम्बन्धमा पनि प्राथमिकताका साथ जानकारी दिइन्छ। यसका अतिरिक्त व्यक्तित्व विकास, टिकटिङ एयर क्राफ्ट, जिम्मेवारी र कर्तव्य, फ्लाइट अनाउन्समेन्ट, फ्लाइट इक्विपमेन्ट, सुरक्षा, साधारण स्वास्थ्य उपचार, बोर्डिङ कार्ड चेक गर्ने विधि, लामो र छोटो दूरीको उडानमा ब्रेक फास्ट, लन्च, डिनर सर्भ गर्ने विधि आदि सिकाइन्छ। अन्तर्वार्ता दिने शैली, निवेदन लिने विधि, तस्बिर खिच्ने खिचाउने विधि आदिका सम्बन्धमा पनि जानकारी प्रदान गरिन्छ।
कमलेश पाण्डे, निर्देशक
एयर होस्टेज ट्रेनिङ इन्स्टिच्युट

नेपालमा एयर होस्टेजसम्बन्धी तालिम दिने थुप्रै संस्था खुले पनि स्थापनाकालदेखि हालसम्म निरन्तर तालिम उपलब्ध गराउँदै आएको पायोनियर शैक्षिक संस्था एयर होस्टेज ट्रेनिङ इन्स्टिच्युटकी निर्देशक कमलेश पाण्डेसँग गरिएको कुराकानी ः
एयर होस्टेज अध्ययनका लागि किन तपाईंकहाँ आउने ?
नेपालमा एयरहोस्टेज ट्रेनिङको आवश्यकता महसुस गरेर यससम्बन्धी इन्स्िटच्युट स्थापना गर्ने हामी पहिलो संस्था हौंर निरन्तर यो क्षेत्रमा कार्यरत छौं। एयर होस्टेज ट्रेनिङ सेन्टरले ग्लोबल्ली सर्टिफिकेट आईएओ, आइएसओ ९००१ः२००८ पाएको छ। एयरहोस्टेज ट्रेनिङ गराउनेमध्येमा भ्याटमा रजिस्टर्ड हामी मात्र छौं। यहाँ लाइसेन्स होल्डर सिनियर इन्स्ट्रक्टरहरूले अध्यापन गराउनुहुन्छ, साथै डोमेस्टिक तथा इन्टरनेसनल एयरलाइन्समा हाइप्लेसमेन्ट रेकर्ड भएको एकमात्र इन्स्टिच्युट हो यो। ।
एयरहोस्टेज ट्रेनिङको फाइदा ?
एयरहोस्टेज ट्रेनिङले एयरहोस्टेजमा करियर चाहने विद्यार्थीलाई पर्याप्त जानकारी दिने त छँदैछ, त्यसबाहेक उनीहरूलाई भविष्यमा जुनसुकै क्षेत्रमा काम गर्न बलियो आत्मविश्वास जगाउँछ। एयरहोस्टेज ट्रेनिङ लिएर बैंकिङ, टेलिकम, इन्स्युरेन्सजस्ता कस्टमर सर्भिस रिलेटेड तथा हस्पिटालिटी सर्भिसका अन्य माध्यममा काम गर्नेहरूको संख्या उत्तिकै छ। हाम्रोमा ट्रेनिङ लिएकाहरूले एनएमबी बैंकमा पेड इन्टर्न गर्ने अवसर पाउँछन्। एयरहोस्टेज बन्न नसकेको अवस्थामा ग्राउन्ड होस्टेज अर्थात् एयरलाइन्सको अफिस स्टाफका रूपमा पनि काम गर्न सकिन्छ।
यो कस्तो पेसा हो ?
यसलाई अहिले प्रतिष्ठित करियरका रूपमा लिइन्छ। पूर्व मिस नेपालदेखि नायिका, मोडलहरू संलग्न भैसकेको पृष्ठभूमिमा आमयुवतीका लागि पनि यो पेसा आकर्षक भएको हो। त्यसमा पनि प्लस टु एजुकेसन पछि नै यो क्षेत्रमा करियर खोज्न सकिने भएकाले पनि पढाइसँगै यायावरका रूपमा विभिन्न स्थान घुम्ने अवसर यो पेसाले दिन्छ।
तालिम लिँदा के कुरामा ध्यान दिनुपर्छ ?
यो तालिममा हामी हवाई उडानदेखि स्वीमिङलगायतका प्रयोगात्मक तालिम फिल्डमा लगेर नै दिन्छौं। विद्यार्थीले तालिमका क्रममा नागरिक उड््डयन प्राधिकरणका विशेषज्ञहरूले तालिम दिने संस्था खोज्नुपर्छ। यो पेसामा कसैले जागिरको ग्यारेन्टी गर्न सक्दैनन्, हाम्रो जस्तो तालिम केन्द्रको काम राम्रो तालिम दिएर उनीहरूको आत्मविश्वास बढाउने मात्र हो।
एयर होस्टेज बन्न टे्रनिङ कत्तिको आवश्यक छ ?
एकदमै आवश्यक छ, एयर होस्टेजमा करियर खोज्नेले हवाई उडानका क्रममा उपलब्ध गराउनुपर्ने हस्पिटालिटीको ज्ञान ट्रेनिङमै दिइन्छ, उनीहरूलाई एयर लाइन्सको सबै अनुभव ट्रेनिङका क्रममा प्रदान गरिने भएकाले त्यहाँ रोजगारी पाएर जाँदा उनीहरूले नौलो अनुभव गर्नुपर्दैन।
किशोर बडु, प्रबन्ध निर्देशक
ग्लोबल विङ्स पुतलीसडक

एयरहोस्टेज ट्रेनिङको क्षेत्रमा किन लाग्नुभएको हो ?
मुख्य कुरा रुचि रहेछ, म धेरै अघि एउटा एयरहोस्टेज ट्रेनिङ इन्स्िटच्युटमा कार्यरत थिए, पछि उक्त इन्स्टिच्युट बन्द भयो। पृष्ठभूमि आइटी भए पनि चाहनाका कारण फेरि यो पेसामा आए। हामी सम्पूर्ण तयारीका साथमा आएका छौं। यो क्षेत्रको जानकार भएकाले केही राम्रो गरौं भन्ने हो। आइएओ -इन्टरनेसनल एक्रिडेसन अर्गनाइजेसन)को लाइसेन्स लिएका छौं। आयटा, आईसीएओ, क्यान सर्टिफाइड कोर्सेजमा ध्यान दिएका छौं।
ग्लोबल विङ्सको विशेषता ?
हामी अन्य इन्स्टिच्युटभन्दा फरक छौं। हामी विद्यार्थीलाई एयरलाइन्ससम्बन्धी राम्रो जानकारी होस् भनेर फ्लाई गर्दै प्रयोगात्मक ज्ञान दिन्छौं। एयरहोस्टेज ट्रेनिङलाई व्यावहारिक ढंगमै उनीहरूले जानुन्-बुझून् भनेर एयरपोर्ट म्यानेजमेन्ट तथा एयरलाइन्ससँग सहकार्य गरेका छौं। हामीसँग एयरलाइन्ससम्बद्ध एकदमै अनुभवी समूह छ। एयरहोस्टेज ट्रेनिङमा इंग्लिसका अतिरिक्त थर्ड ल्याङ्वेज जान्नु उपयुक्त हुने भएकाले हामीले फ्रेन्च र स्पेनिस ल्याङ्वेजको कक्षा पनि सञ्चालन गरेका छौं। उपत्यकाबाहिरका विद्यार्थीलाई होस्टलको समेत व्यवस्था छ।
एयरहोस्टेज ट्रेनिङ गराउनेहरूको बाक्लो उपस्थितिमा आफूलाई कसरी चिनाउनुहुन्छ ?
हामीले एयरहोस्टेजसम्बन्धी पायोनियर टे्रनिङ इन्स्टिच्युटका रूपमा आफूलाई उभ्याएका छौं। एउटा कक्षामा १२ विद्यार्थीभन्दा बढी लिँदैनौं। प्रत्येक विद्यार्थीलाई विशेष केयर गर्छौं। जब ग्यारेन्टी गर्दैनौं, तर जबका लागि फुल असिस्टको भूमिका निर्वाह गर्छौं, उनीहरूको आत्मविश्वास बढाउन सक्दो प्रयास गर्छौं। विद्यार्थीलाई डोमेस्टिक, इन्टरनेसनल एयरलाइन्स जहाँ पनि परीक्षामा खरो रूपमा उत्रिन सक्ने बनाउछौं।