Saturday, 7 September 2013

कथा यो फुटबल पुस्ता


image

काठमाडौं, भाद्र २२ - नेपालले भारतलाई हराउँदा सबै समर्थकसँगै दशरथ रंगशालामा खुसीयाली मनाउनेमा दुई विशेष व्यक्तित्व पनि थिए, गणेश थापा र हरि खड्का । खड्का प्यारापिटमा थिए भने थापा ट्रायकतिर । निराजन रायमाझीले कहिंकतै बसेर पक्कै खुसीयाली साटेको हुनु पर्छ । विदेशमै सही वसन्त थापाले पनि हर्ष अनुभव गरेको हुनु पर्छ ।

पुरानो पुस्ताका लगभग सबै फुटबल खेलाडीले सामाजिक संजालमा नेपालको लगातार सफलतामा आफू पनि उत्तिकै खुसी रहेको भावना पोखेका छन् । खासमा साफ च्याम्पियनसिप २०१३ मा नेपालले अहिलेसम्म तय गरेको यात्रा नै यस्तो छ । पुराना खेलाडीका पुराना कुरा सुन्ने हो भने लाग्थ्यो, सायद अहिलेको पुस्ताका खेलाडीले केही गर्न सक्दैन् ।

पुस्ता पुस्ताबीचको अन्तर यस्तै हुँदो हो । तर विस्तारै सिद्ध हुन थालेको छ, नेपाली फुटबलले पाएको सबैभन्दा अब्बल दर्जाको पुस्ता सायद अहिलेकै हो ? खेलकुदमा को कत्तिको राम्रो भन्ने आधार तयार पार्न तथ्यांकहरू उपलब्ध हुने गर्छन् । यसैको आधारमा अहिलेको पुस्ताले आफ्नो अग्रजलाई उछिन्न थालेका छन् ।

नेपाली फुटबलमा सबैभन्दा बढी अन्तर्राष्ट्रिय गोल गर्ने कीर्तिमान संयुक्त रूपमा खड्का र रायमाझीको नाममा छ, १३/१३ गोल । त्यसपछि आउूथ्यो, अहिलेका एन्फा अध्यक्ष थापा र विदेशमा रहेका वसन्त । दुवैले नौ/नौ गोल गरेका छन् । उनीहरू सबैले कम्तीमा दुई अथवा तीन फरक पुस्ताको प्रतिनिधित्व गर्छन् ।

उनीहरूलाई उछिदै अगाडि बढिरहेका छन्, अहिलेको पुस्ताका जुमनु राई, अनिल गुरुङ र भरत खवास । भारतविरुद्धको निर्णायक सावित गोल जुमनुको ११ औं थियो । माल्दिभ्सविरुद्ध नयाँ दिल्लीमा नेहरुकपमा दसौं गोल गर्दा उनले भनेका थिए, 'टिमले जित्नु सबैभन्दा ठूलो हो, तर गोलको कीर्तिमान नजिक पुगेकोमा म खुसी छुं । अझ बढी गोल गर्ने प्रयास गर्नेछुं ।'

गुरुङले अहिले चलिरहेको साफ च्याम्पियनसिपमा दुई महत्त्वका गोल गरेका छन् र उनको व्यक्तिगत गोल संख्या पुगेको छ, नौ । भरत खवासले पनि आठ गोल गरिसकेका छन् । त्यसमाथि विमल घर्तिमगरले पनि गोलको खाता खोलिसकेका छन् भने अहिलेसम्म वेञ्चमा रहेका सन्तोष साहुखलको नाममा तीन गोल छ ।

यस्तोमा नेपालले फरवार्डका रूपमा उतार्न मिल्ने चार खेलाडीको संयुक्त गोल संख्या ३२ पुगेको छ । कुनै समय उनीहरूमाथि नै गोलको खडेरी परेको ठूलो न ठूलो आरोप परेको थियो । आरोप झेल्दा झेल्दै उनीहरूले यति धेरै गोल गरेको कमैले चाल पाए । यिनै फरवार्डहरूलाई लिएर पुराना प्रशिक्षक ग्राहम रोबर्टस भन्ने गर्थे, 'उनीहरूभन्दा राम्रो फरवार्ड नेपालमा छैन्, हाम्रो काम उनीहरूलाई नै तिखार्नु हो ।'

नभन्दै अहिले यस्तै देखिएको छ । अब ढिलो चाँदो राई, गुरुङ अथवा खवासमध्ये कसैले सर्वाधिक बढी गोल गर्नेको कीर्तिमान राख्न सक्नेछ । राईसँग यसका लागि सबैभन्दा बलियो अवसर छ । हुन सक्छ, यो अवसर अहिलेको साफ च्याम्पियनमा पनि जुट्न सक्छ । उनीहरू साँच्चै गोलका लागि बढी अभिप्रेरित गर्ने हो भने नेपाली टिमको जित अझ निश्चित हुनेछ ।

गोलकै चर्चा गर्ने हो भने अहिलेको टिममा सन्दीप राईले तीन गोल गरेका छन् । राजु तामाङ र भोला सिलवालले दुई/दुई गोल गरेका छन् । यस्तै विराज महर्जन, जगजित श्रेष्ठ र सागर थापाको नाममा पनि एक/एक गोल गरेका छन् । यस्तोमा यो पुस्ताको नाममा कुल ४२ गोल रहेको छ । यो पनि आफैमा एउटा मीठो कीर्तिमान हो कि ?

त्यसमाथि यही पुस्ताले भारतमाथि आधिकारिक प्रतियोगिताको ९० मिनेटमा पहिलो पल्ट हराउन सकेको छ । यस्तै कुनै ठूलो प्रतियोगितामा नेपालको सेमिफाइनल यात्रा कहिल्यै यति सुमधुर रहेन् । चार टिमको लिग चरण र सेमिफाइनल समीकरण भएको प्रतियोगितामा नेपालले समूह विजेता बनेको पनि त यही हो । यसअघि तीन टिमको लिग चरणमा नेपाल तीन पल्ट पहिलो भएको छ ।

फेरि नेपालले यसपल्ट समूह चरणमा कुनै खेल गुमाएन् । यस्तै प्रवृत्ति पछिल्लो साफ च्याम्पियनसिपमा पनि भएको थियो । अहिले यही पुस्तासूगै पुराना खेलाडीले हात पार्न असफल रहेको नेपाली फुटबलका लागि सबैभन्दा ठूलो सफलता दिलाउने अवसर छ । पहिला अफगानिस्तानविरुद्धको सेमिफाइनल तगारो काट्नु पर्नेछ । धेरैलाई विश्वास छ र कामना पनि गरिरहेका छन्, नेपाल च्याम्पिनयन बन्ने छ ।




No comments:

Post a Comment