Friday, 2 August 2013

फरार 'दाइ नाइके' पक्राउ


     

नेपालगन्ज, श्रावण १८ - योजनाबद्ध ढंगले बाँके जिल्ला कारागारबाट फरार भएका एक 'दाइ नाइके' लाई प्रहरीले दुई महिनापछि पक्राउ गर्न सफल भएको छ । जिल्ला, अञ्चल र क्षेत्रीय प्रहरी कार्यालयको संयुक्त टोलीले मनिकापुर ८ का ४५ वर्षीय  सैफु नाउलाई बुधबार साँझ बर्दियाको सीमावर्ती कण्ठपुरबाट पक्राउ गरेको हो । ५१ प्रतिशत कैद भुक्तान गरिसकेका नाउले फरार भएपछि भारतमा बसेर आफ्नाविरुद्ध जाहेरी दिने र साक्षी बक्ने गाउँलेविरुद्ध 'हत्या योजना' बनाइरहेको अवस्थामा पक्राउ गर्न सफल भएको दाबी प्रहरीले गरेको छ । जिल्ला अदालतले कर्तव्य ज्यान मुद्दाका अभियोगी नाउलाई ०६० जेठ २८ गते २० वर्ष कैद सजायको फैसला सुनाएको थियो ।

योजनाबद्ध ढंगले गत जेठ २० गते जिल्ला कारागार कम्पाउन्डबाट उनी भाग्न सफल भएका थिए । पहिल्यै सहयोगीसहित बाहिर राखिएको मोटरसाइकलमा चढेर नाउ फरार भएका थिए । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक भुपालकुमार भण्डारीले उनी भागेर भारतको नानपारा पुगेको सूचना प्राप्त भएपछि टोली परिचालन गरिएको र दुई महिनाको मिहिनेतपछि पक्राउ गर्न सफल भएको बताए ।

क्षेत्रीय प्रहरी कार्यालय सुर्खेत, अञ्चल प्रहरी कार्यालय भेरी र जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको विशेष संयुक्त दस्ताले सुराकीका आधारमा कालिका ६ कण्ठपुर, बर्दियाबाट उनलाई पक्राउ गरेको हो । टोलीको नेतृत्व गरेका डीएसपी प्रकाश मल्लले भने, 'भागेर भारतको नानपारा पुगेका नाउले त्यहाँ हतियार र सस्तो चोरीको मोटरसाइकल खोजिरहेको सूचना प्राप्त भयो । उनका विश्वासका मान्छेलाई प्रयोग गरेर त्यस्ता मोटरसाइकल नेपालमा पाइने प्रलोभन देखाएर सीमावर्ती गाउँमा बोलाएर पक्रेका हौं ।' कण्ठपुर सीमावर्ती भारतको बलैगाउँ ससुराली भएका नाउलाई प्रलोभनमा पारेर बोलाउन सफल प्रहरीले झन्डै आधाभन्दा बढी सजाय भुक्तान गरेर 'दाइ नाइके' भइसकेका नाउको सजाय थप हुने जनाएको छ ।

No comments:

Post a Comment